काडाँघारी (कागेश्वरी मनोहरा): कागेश्वरी मनोहरामा मंगलबार, समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी वृत्त नयाँ बानेश्वर, प्रहरी प्रभाग कोटेश्वर, प्रहरी प्रभाग काँडाघारी, सामुदायिक सेवा तथा विकास समाज तथा सामुदायिक प्रहरी सेवा केन्द्र कोटेश्वर-३२ तथा कागेश्वरी मनोहरा–७, ८, ९ लगायत संस्थाहरूको संयुक्त आयोजनामा कागेश्वरी मनोहरा–९ स्थित गान्धी आदर्श माध्यमिक विद्यालयको सभाहलमा एक महत्वपूर्ण सचेतना कार्यक्रम सम्पन्न गरिएको छ।
कार्यक्रमका सभाध्यक्ष सामुदायिक सेवा तथा विकास समाज तथा सामुदायिक प्रहरी सेवा केन्द्र कोटेश्वरका अध्यक्ष रविन्द्र थापा रहनु भएको थियो। कार्यक्रमका प्रमुख अतिथि उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (AIG) ईश्वर कार्की हुनुहुन्थ्यो भने विशिष्ट अतिथि जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (SSP) रमेश थापा रहनुभएको थियो।

समारोहमा प्रहरी, स्थानीय सरकार, विद्यालय, समुदायका प्रतिनिधि, महिला समूह, बुद्धिजीवी, अभिभावक, स्वास्थ्य स्वयंसेवी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिको उत्साहपूर्ण उपस्थिति थियो। साथै गान्धी विद्यालयका विद्यार्थीहरूको सक्रिय सहभागिताले कार्यक्रम अझ प्रभावकारी बनेको थियो।
अन्तर्राष्ट्रिय १६ दिने लैङ्गिक हिंसा विरोधी अभियान अन्तर्गत “प्रविधिको सही प्रयोग गरौँ: लैङ्गिक हिंसा अन्त्य गरौँ”, “लैङ्गिक हिंसा रहित प्रविधि, सुरक्षा र न्यायको विधि” भन्ने राष्ट्रिय नारालाई आत्मसात गर्दै लैङ्गिक हिंसा न्युनिकरण र साइबर अपराध सम्बन्धी सचेतना अभिवृद्धि गर्ने लक्ष्यका साथ कार्यक्रम आयोजना गरिएको थियो।
जिल्ला प्रहरी परिसरका प्र.नि. सन्तोष कार्कीले सहभागीहरूलाई लैङ्गिक हिंसा, साइबर सुरक्षा, अनलाइन जोखिम, कानूनी प्रक्रियाबारे महत्वपूर्ण प्रशिक्षण प्रदान गर्नुभयो।

प्रमुख तथा विशिष्ट अतिथिहरूले आधुनिक समाजमा बढ्दो लैङ्गिक हिंसा र साइबर अपराधका चुनौती, यसको रोकथामका उपाय तथा सुरक्षा निकाय, स्थानीय तह, विद्यालय र समुदायबीचको सहकार्यबारे महत्वपूर्ण धारणा राख्नुभयो। नेपाल प्रहरी सधैं शान्ति–सुरक्षा कायम राख्न समुदायसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरिएको थियो।
गान्धी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गया प्रसाद उपाध्यायले स्वागत मन्तव्य राख्नुभयो। वडा नं. ९ का वडा अध्यक्ष अनिल थापा तथा महिला तथा जेष्ठ नागरिक शाखा प्रमुख सबिना श्रेष्ठले शुभकामना मन्तव्य राख्नुभयो। कार्यक्रमका महासचिव पदम कुमार रेग्मीले कार्यक्रम संचालन गर्नुभएको थियो।

सबै अतिथि, सरोकारवाला, विद्यार्थी तथा सहभागीहरूलाई धन्यवाद व्यक्त गर्दै सभाध्यक्ष रविन्द्र थापाले कार्यक्रम समापन गर्नुभयो। समाजमा लैङ्गिक हिंसा र साइबर अपराध न्यूनीकरणका लागि निरन्तर सहकार्य र सचेतना अभियान आवश्यक रहेको निष्कर्षमा कार्यक्रम टुंगिएको थियो।





