पेप्सीकोला,मंसिर, २९ : आठौँ संस्करणको नेक्सस् कप २०८२ सफलतापूर्वक सम्पन्न भएको छ।

साेमवार मध्यपुर युथ एसोसिएसनको खेल मैदानमा सम्पन्न फाइनल खेलमा आयोजक विद्यालय नेक्सस् इन्टरनेशनल एकेडेमीले लाइसियम प्याराडाइज एकेडेमीलाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि जित्न सफल भएको हो। पराजित लाइसियम प्याराडाइज एकेडेमी फस्ट रनर–अपमा सीमित भयो।
समापन समारोहको अध्यक्षता प्याब्सनका महासचिव तथा आयोजक विद्यालयका संस्थापक प्रिन्सिपल आरबी कटवालले गर्नुभएको थियो भने प्याब्सनका पूर्व अध्यक्ष तथा सल्लाहकार डीके ढुंगाना प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

आठौँ संस्करणको नेक्सस् कप २०८२ सफलतापूर्वक सम्पन्न भएको छ। सोमबार मध्यपुर युथ एसोसिएसनको खेल मैदानमा सम्पन्न फाइनल खेलमा आयोजक विद्यालय नेक्सस् इन्टरनेशनल एकेडेमीले लाइसियम प्याराडाइज एकेडेमीलाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि जित्न सफल भएको हो। पराजित लाइसियम प्याराडाइज एकेडेमी फस्ट रनर–अपमा सीमित भयो।

विजेता नेक्सस् इन्टरनेशनल एकेडेमीले नगद ५० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गरेको छ भने उपविजेता लाइसियम प्याराडाइज एकेडेमीले नगद २५ हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गरेको छ।

कार्यक्रममा बोल्दै आयोजक विद्यालयका संस्थापक प्रिन्सिपल आरबी कटवालले विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि खेलकुदको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो।

उहाँले भन्नुभयो, “पढाइसँगै खेलकुदलाई प्राथमिकतामा राखेर अनुशासन, नेतृत्व र प्रतिस्पर्धाको भावना विकास गर्नु हाम्रो लक्ष्य हो। नेक्सस् कप त्यसैको निरन्तर प्रयास हो।”

प्रमुख अतिथि डीके ढुंगानाले विद्यालयस्तरबाटै खेलकुद प्रवर्द्धन हुनु सकारात्मक संकेत भएको बताउँदै यस्ता प्रतियोगिताले विद्यार्थीमा आत्मविश्वास बढाउने र भविष्यका सक्षम खेलाडी उत्पादन गर्न सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो। उहाँले आयोजक विद्यालयको प्रयास प्रशंसनीय रहेको बताउनुभयो।

प्रतियोगिताका क्रममा उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर, उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट प्रशिक्षक तथा फेयरप्ले टिमलाई विशेष सम्मान प्रदान गरिएको थियो। साथै रेफ्री तथा निर्णायकहरूलाई पनि मायाको चिनोद्वारा सम्मान गरिएको आयोजकले जनाएको छ।

आठौँ नेक्सस् कपले विद्यालयस्तरको फुटबल विकासमा उल्लेखनीय योगदान दिएको सहभागी तथा दर्शकहरूले प्रतिक्रिया दिएका छन्।






