काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं ५ भित्र अब जम्मा ६ सय मिटर मात्रै सडक सञ्जाल विस्तार गर्न बाँकी रहेको छ । पछिल्ला तीन वर्षमा उल्लेखनीय मात्रामा सडक पूर्वाधार विकास भएको जनप्रतिनिधिहरूले दाबी गरेका छन् ।

गोकर्ण फरेष्ट क्षेत्रमा ट्र्याक खोल्न बाँकी रहेको छ भने माछापोखरीबाट वडा नं ५ र ४ हुँदै पोलमध्यघाटसम्मको सडक सञ्जाल विस्तार गर्न बाँकी रहेको वडाध्यक्ष शंकर पाण्डेले जानकारी दिनु भयो । केही स्थान बाहेक वडा नं ५ का सबै क्षेत्रमा सडक पहुँच पुगेको छ ।

विगतमा वर्षायाममा हिलो र धुलाम्य अवस्थाका कारण स्थानीयवासीले सास्ती भोग्नुपरेको सडक अहिले ढलान तथा कालोपत्रे भइसकेको छ । यसले दैनिक आवागमन सहज हुनुका साथै स्थानीयको जीवनशैलीमा सकारात्मक प्रभाव परेको छ ।

स्थानीय सरकारको प्राथमिकता अनुसार विकास योजनालाई निरन्तरता दिइरहेको जनाउँदै वडाध्यक्ष पाण्डेले बाँकी सडक विस्तार पनि चाँडै सम्पन्न हुने प्रतिबद्धता जनाउनु भएको छ।

सडक पूर्वाधारमा देखिएको सुधारप्रति यसैबीच, स्थानीय बासिन्दाहरूले सन्तोष व्यक्त गर्दै बाँकी काम पनि शीघ्र सम्पन्न गरिनुपर्ने माग गरेका छन् ।





