बालश्रम मुक्त अभियानमा कागेश्वरी मनोहरा नगरपालिकाका सामुदायिक विद्यालयहरुको साथ

काठमाडौं (थली) – कागेश्वरी मनोहरा नगरपालिकाको बालश्रम मुक्त अभियानलाई नगरका सामुदायिक विद्यालयहरुले पनि साथ दिएका छन् । सो अभियानका लागि नगरपालिकाले शिक्षालाई नै प्रमुख हतियारको रुपमा अघि सारेको छ ।

शिक्षा नै बालबालिकालाई उज्वल भविष्यतर्फ लैजाने बाटो रहेको नगरप्रमुख उपेन्द्र काकीले विभिन्न सार्वजनिक कार्यक्रममा भन्दै आउनु भएको छ । सोही अनुरुप अभियानलाई प्रभावकारी बनाउन सामुदायिक विद्यालयहरुले पनि साथ दिएका हुन् ।

नगरपालिकाभित्र १६ वटा सामुदायिक विद्यालय रहेका छन् । न्युनतम शुल्क तिर्न नसक्ने तर पढ्न चाहने विद्यार्थीलाई भर्ना लगायतका लागि कुनै अवरोध नहुने वडा नं ९ मा अवस्थित गान्धी आदर्श माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गया उपाध्यायले बताउनु भयो ।

नगरपालिकाको अभियानमा आफुहरु पनि संगसंगै रहेकाले सबै बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनका लागि अग्रसर रहेको उहाँको भनाई छ । गान्धी आदर्श माध्यमिक विद्यालय नगरपालिकाभरिकै सबैभन्दा बढी विद्यार्थी भएको विद्यालय हो । सो विद्यालयमा हाल २ हजार ५ सयको हाराहारीमा विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।

यस्तै वडा नं ७ मा नै रहेको आनन्द भैरब माध्यमीक विद्यालयकी प्रधानाध्यापक सरु कार्कीले पनि आर्थिक अवस्था कमजोर भएका बालबालिकाहरुलाई विद्यालयमा पढ्ने वातावरण दिईरहेको बताउनु भयो । यसमा विभिन्न संघसंस्थाको पनि सहयोग रहेको उहाँको भनाई छ । बालबालिकाहरु पढाईबाट वञ्चित हुनु नपरोस् भन्नेमा आफु ढृढ रहेको उहाँले बताउनु भयो ।

विद्यालयको ढोका आर्थिक कठिनाइका कारण कहिल्यै बन्द नहुने नगरका सामुदायिक विद्यालयहरुले उल्लेख गरेका छन् । नगरपालिकाको बालश्रम मुक्त अभियानलाई साथ दिने मात्र नभई विद्यार्थीलाई आत्मबल र अवसर प्रदान गर्न निरन्तर अग्रसर रहेको उनिहरुको भनाई छ ।

नगरपालिकाले सामुदायिक विद्यालयहरूलाई अभियानको अग्रपंक्तिमा राख्दै कुनै पनि बालबालिका शिक्षा बाहिर नपरोस् भन्ने उद्देश्यका साथ सक्रियता बढाईरहेको छ । हाल विभिन्न वडाहरु बालश्रममुक्त भईरहेका छन् । आगामी दुई वर्षभित्र नगरपालिकालाई पूर्ण रुपमा बालश्रममुक्त बनाउने अभियान रहेको छ ।