कागेश्वरी मनोहरा–५ मा भोलि वृहत सरसफाइ कार्यक्रम आयोजना हुँदै

थली, ४ पुस : “मेरो फोहर, मेरो जिम्मेवारी” भन्ने मूल नाराका साथ कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ५ द्वारा भोलि शनिबार बिहान ७:३० बजे वृहत सरसफाइ कार्यक्रम आयोजना गरिने भएको छ। सरसफाइ कार्यक्रम वडा भित्रका विभिन्न स्थानहरूमा सञ्चालन हुने जनाइएको छ।

उक्त कार्यक्रम महिला वातावरण समूह तथा दिदीबहिनी एकता समाजको सहकार्यमा आयोजना गर्न लागिएको हो।

सफा, सुन्दर र स्वस्थ वातावरण निर्माण गर्ने उद्देश्यले आयोजना गरिएको यस सरसफाइ अभियानमा समुदायको सक्रिय सहभागितालाई विशेष महत्व दिइएको छ।

वडा अध्यक्ष शंकर पाण्डेले वडा नं. ५ भित्र रहेका सम्पूर्ण महिला समूह, युवा क्लब, टोल सुधार समिति, समाजसेवी, आमा–बुवा, दिदी–बहिनी तथा दाजु–भाइहरूलाई सरसफाइ कार्यक्रममा उपस्थित भई सक्रिय रूपमा सहयोग गर्न हार्दिक आग्रह गर्नुभएको छ।