कागेश्वरी–८ मा बागमती करिडोर संरक्षण अभियान निरन्तर, शनिबार पनि सरसफाइ र बिरुवा संरक्षण कार्य सम्पन्न

तेजविनायक: कागेश्वरी मनोहरा नगरपालिका–८ मा पर्ने बागमती करिडोर क्षेत्रमा हरेक शनिबार सञ्चालन हुँदै आएको सरसफाइ तथा संरक्षण अभियान आज पनि जारी रह्यो। आजको अभियान अन्तर्गत जम्मुडाँडा पुल (डौडिक) देखि पहेँलो पुलसम्म सरसफाइ कार्य तथा रोपिएको बिरुवाको संरक्षण गरिएको छ।

अभियानमा बागमती करिडोर संरक्षण समितिका पदाधिकारी, स्थानीय बासिन्दा तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो। नियमित रूपमा समय निकालेर श्रमदान गर्दै आएका सबै सहभागीहरूलाई समितिले धन्यवाद व्यक्त गरेको छ।

अभियानलाई थप प्रभावकारी बनाउन निरन्तर सहयोग गर्दै आएको निराकार सरसफाइ परिवार प्रति समेत समिति आभारी रहेको जनाएको छ। उनीहरूले नियमित कामदारदेखि स्वयंसेवी श्रमदानमार्फत फोहोर व्यवस्थापन तथा क्षेत्र सफाइमा महत्वपूर्ण योगदान गर्दै आएका छन्।

स्थानीय तहको सहकार्यमा बागमती किनारालाई हरियालीसहितको व्यवस्थित पार्कका रूपमा विकास गर्ने दीर्घकालीन उद्देश्य रहेको समितिले जनाएको छ। यसका लागि आवश्यक बजेट, प्रविधिक सहयोग तथा समन्वय प्रदान गर्दै आएका कागेश्वरी मनोहरा नगरपालिकाका प्रतिनिधि, वडा नं ८ का जनप्रतिनिधि तथा प्राविधिक टोलीहरुले सहयोग गर्दै आइरहेका छन् ।

समितिले आगामी शनिबार पनि सरसफाइ अभियानमा सहभागी भई सामाजिक दायित्व निर्वाह गर्न सबैमा अपिल गरेको छ।