अर्किड कपको १०औँ संस्करण फागुन १ देखि हुने

काठमाडौँ । विद्यालयस्तरीय फुटबल प्रतिभा पहिचान र विकासलाई लक्ष्य गर्दै अर्किड प्युपल सेकेन्डरी स्कुलले १०औँ अर्किड कप सेभेन–ए–साइड अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगिता आगामी फागुन १ गतेदेखि आयोजना गर्ने भएको छ।

विद्यालयको शैक्षिक क्यालेन्डरमै समावेश गरी प्रत्येक वर्ष नियमित रूपमा हुँदै आएको अर्किड कप यस पटक १०औँ संस्करणमा प्रवेश गरेको हो। प्रतियोगितामा कक्षा ७ सम्म अध्ययनरत तथा १३ वर्ष उमेर ननाघेका विद्यार्थी खेलाडीहरूले सहभागिता जनाउन पाउनेछन्।

प्रतियोगितामा उत्कृष्ट चार स्थान हासिल गर्ने टिमले क्रमशः ४० हजार, २५ हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता लगायतका व्यक्तिगत विधामा पनि खेलाडीहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

अर्किड प्युपल सेकेन्डरी स्कुलका संस्थापक प्रेमकुमार भुजेलले विद्यालयले शैक्षिक उपलब्धिसँगै खेलकुद र अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीको सर्वाङ्गीण विकासमा जोड दिँदै आएको बताउनुभयो। यही उद्देश्यअनुसार विद्यालयले वर्षेनी अर्किड कपसहित विभिन्न सिर्जनात्मक गतिविधि सञ्चालन गर्दै आएको उहाँको भनाइ छ।

फागुन १ देखि ९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका सबै खेलहरू काठमाडौँको गोठाटारस्थित अर्किडको आफ्नै खेलमैदानमा आयोजना हुनेछन्।

प्रतियोगिताले विद्यालयस्तरीय फुटबलमा नयाँ प्रतिभा उत्पादन र दीर्घकालीन विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास आयोजकले व्यक्त गरेको छ।