कागेश्वरी मनोहरा नगरपालिका–५ मा जेष्ठ नागरिकलाई लक्षित गर्दै गाउँघर क्लिनिक सेवा औपचारिक रूपमा सुरु गरिएको छ। आनन्दपुर जेष्ठ नागरिक पार्कमा हरेक महिनाको तेस्रो मङ्गलबार स्थायी रूपमा सञ्चालन हुने गरी यो सेवा प्रारम्भ गरिएको हो ।
उद्घाटन कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष शंकर पाण्डेले समुदायमै पुगेर स्वास्थ्य सेवा दिन सक्ने यस्तो पहलले जेष्ठ नागरिकको स्वास्थ्य सुरक्षामा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले सेवा नियमित, प्रभावकारी र पहुँचयोग्य बनाइराख्न वडा कार्यालय प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।

स्वास्थ्य शाखा प्रमुख तुलजा लामाले जेष्ठ नागरिकले दैनिक सरसफाइ, दीर्घरोग व्यवस्थापन, नियमित स्वास्थ्य परीक्षण र निःशुल्क परामर्श सेवाबाट लाभान्वित हुने जानकारी दिनुभयो। स्वास्थ्य केन्द्र प्रमुख प्रमिला भट्टराईले स्थानीयस्तरमै स्वास्थ्य सेवा विस्तार हुनु समुदायको दीर्घकालीन स्वास्थ्य सुरक्षाका लागि आवश्यक भएको बताउनुभयो।
कार्यक्रममा स्थानीय प्रतिनिधि, स्वास्थ्यकर्मी, जेष्ठ नागरिक तथा सरोकारवाला सहितको सक्रिय उपस्थितिले सेवा प्रारम्भप्रति उत्साह देखिएको थियो। नगरपालिकाले सेवालाई अझ प्रभावकारी बनाउन आवश्यक जनशक्ति र स्रोत परिचालन गर्ने जनाएको छ।





