काठमाडौं (मूलपानी)— कागेश्वरी मनोहरा नगरपालिका वडा नं ७ मा रहेको आनन्द भैरव माध्यमिक विद्यालयमा विद्यार्थीको संख्या बढ्दो रहेको छ । हाल विद्यालयमा १ हजार २५ जना विद्यार्थी रहेका छन् । पाँच वर्ष अघि अर्थात २०७७ सालमा सो विद्यालयमा ७ सय ६० विद्यार्थी रहेका थिए । यस्तै २०७८ सालमा ९ सय ५४ थिए ।

पछिल्ला वर्षहरूमा उल्लेखनीय शैक्षिक उपलब्धि हासिल गर्दै विद्यार्थी संख्यामा समेत उल्लेखनीय वृद्धि गर्न सफल भएको हो । शैक्षिक गुणस्तरमा निरन्तर सुधार लगायतका कारण विद्यालयप्रति विद्यार्थी र अभिभावकको आकर्षण बढेको विद्यालययकी प्रधानाध्यापक सरु कार्कीले बताउनु भयो ।

विद्यालयले कमजोर विद्यार्थीहरुका लागि थप कक्षाहरु संचालन गरेर विद्यार्थीहरुलाई पढाईरहेको छ । यस्तै विद्यार्थीको चापलाई मध्यनजर गदै एउटै कक्षाका विद्यार्थीहरुलाई विभिन्न सेक्सनमा राखेर अध्यापन गराईरहेको छ ।

गत वर्ष विद्यालयको एसइई उतिर्ण दर ८५ प्रतिशत रहेको थियो । आगामी दिनमा विद्यालयको गुणस्तरलाई अझै अभिवृद्धि गदै विद्यार्थीहरुको शैक्षिक विकासमा जोड दिने प्रिन्ुीपल कार्कीले प्रतिबद्धता जनाउनु भयो ।

विद्यालय जानका लागि आर्थिक अवस्था निकै कमजोर भएका विद्यार्थीहरका लागि विभिन्न संघसस्थाको सहयोगमा विद्यालयमा पढ्ने वातावरण बनाईरहेको उहाँले जानकारी दिनु भयो । साथै विद्यार्थीका लागि आवश्यक किताबकलम, पोशाक, ब्याग लगायतको पनि व्यवस्था हुने गरेको छ ।

पछिल्लो समय कागेश्वरी मनोहरा नगरपालिकाले पनि बालबालिकालाई विद्यालय भर्नाका लागि प्रोत्साहन गरिरहेको छ । बालश्रम मुक्त नगरपालिका घोषणा गर्ने अभियानमा जुटेको नगरपालिकालाई नगरका विद्यालयहरुले पनि साथ दिईरहेका हुन् । पछिल्लो समय नगरपालिकाका सामुदायिक विद्यालयको विद्यार्थी भर्नादर ९५ प्रतिशत रहेको तथ्यांक रहेको छ ।

शैक्षिक गुणस्तरलाई अझ सुदृढ पार्ने र सबै वर्गका विद्यार्थीलाई समान अवसर उपलब्ध गराउने लक्ष्यका साथ विद्यालयले आगामी दिनमा थप सुधारमूलक कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ। शिक्षा मात्र नभई सामाजिक समावेशीता र उत्तरदायित्वमा समेत अगाडि बढिरहेको आनन्द भैरव माध्यमिक विद्यालय स्थानीय समुदायका लागि प्रेरणादायी बन्न थालेको छ।






