काठमाठौ- कागेश्वरी मनोहरा नगरपालिका बालश्रममुक्त समाज निर्माणको अभियानमा सक्रिय रूपमा जुटिरहेको छ। नगरका विभिन्न वडामा चरणबद्ध रूपमा बालश्रममुक्त घोषणा भइरहेको छ । नगरपालिकालाई आगामी दुई वर्षभित्र पूर्ण रूपमा बालश्रममुक्त बनाउने लक्ष्यसहित काम अघि बढिरहेको छ । बालश्रम अन्त्यका लागि अनुगमन र जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिईरहेको नगरप्रमुख उपेन्द्र कार्कीले बताउनु भयो ।

हालसम्म वडा नं ५ बालश्रममुक्त घोषणा भइसकेको छ भने वडा नम्बर ७ पनि यहि भाद्र २९ गते बालश्रममुक्त घोषणा हुँदैछ । अन्य वडाहरूमा पनि उच्च प्राथमिकताका साथ अनुगमन र निरीक्षणका गतिविधिहरू सञ्चालन भइरहेका छन्। वडा नम्बर ८ र ९ मा भने अझै सर्वेक्षण र अनुगमन कार्य बाँकी रहेको नगरपालिकाको महिला, बालबालिका तथा समाजकल्याण शाखा प्रमुख सविना कुमारी श्रेष्ठले जानकारी दिनु भयो । ती वडामा पनि निकट भविष्यमा नै अभियान सन्चालन गर्ने तयारी रहेको छ ।
बालश्रम उन्मूलन, बालअधिकार संरक्षण र बालमैत्री समाज निर्माणमा नगरपालिकाले पछिल्ला वर्षहरूमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ । शिक्षा, सञ्चार र जनचेतनालाई मुख्य माध्यम बनाउँदै विद्यालय भर्नादरमा वृद्धि, उद्धार संयन्त्रको सुदृढीकरण जस्ता विविध कार्यक्रममार्फत कागेश्वरी मनोहरा उदाहरणीय बन्दै गएको छ। सडक नाटक, रेडियो कार्यक्रम, समुदाय संवादजस्ता कार्यक्रममार्फत बालश्रमका जोखिमबारे जनमानसमा चेतना फैलाइएको छ ।

नगरका वडाहरूमा बालमैत्री संयन्त्रहरू गठन गरी बालबालिकाको अवस्थाको निगरानी, उद्धार तथा संरक्षणको जिम्मेवारी दिइएको छ । बाल अधिकार समितिहरू पनि सक्रिय रूपमा अनुगमन, पहिचान र कारबाही प्रक्रियामा संलग्न छन्। उद्धार गरिएका बालबालिकाका लागि सुरक्षित बालगृहको व्यवस्था गरिएको छ ।
शिक्षालाई बालश्रम अन्त्यको मुख्य हतियार मानेर नगरपालिका विद्यालय जानुपर्ने उमेरका सबै बालबालिकालाई विद्यालयसम्म पुर्याउने अभियानमा जुटेको छ । हाल विद्यालय भर्ना दर ९५ प्रतिशतभन्दा माथि पुगेको छ ।
हाल नगरपालिकामा २१ वटा बाल क्लबहरू गठन भइसकेका छन् जसले बालबालिकाका समस्या पहिचान, सचेतना फैलाउने र समाधानमा भूमिका खेलिरहेका छन्। त्यस्तै, ३ वटा वडास्तरीय बाल सञ्जालहरूले समन्वयकारी भूमिका खेलिरहेका छन्। विशेष रूपमा श्रमिक बालबालिकाहरूका लागि छुट्टै सञ्जाल पनि बनाइएको छ ।
स्थानीय तहमा तोकिएका बालकल्याण अधिकृतहरूले जोखिममा परेका बालबालिकाको उद्धार, संरक्षण र पुनःस्थापनामा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन्। पालिकास्तरमा बाल अधिकारसम्बन्धी समिति पनि गठन गरिएको छ। यस अभियानमा नीति तथा कार्यविधिका रूपमा बालअधिकारसम्बन्धी कार्यविधि २०७६, बालगृह सञ्चालन कार्यविधि २०७६, बाल संरक्षणसम्बन्धी कार्यविधि २०७९ जस्ता कानुनी संरचनाहरू क्रियाशील छन्।

बालश्रममुक्त नगरपालिका बनाउने अभियानमा नगरभित्रका विभिन्न सामाजिक संस्था पनि सहकार्य गरिरहेका छन्। ईस्टर रेमेम्बरेन्स संस्था, ज्योति को घर नेपाल, लिटिल स्टेप नेपाल, नेपाल गुडविल फाउन्डेशन, रेनबो भोलिन्टियर्स नेपाल, साराको चिल्ड्रेन होमजस्ता संस्थाहरूले बालश्रम, गरिबी र बालअधिकार उल्लंघनविरुद्ध काम गर्दै आएका छन् ।
बालश्रममुक्त वडा र नगर घोषणा गर्न आवश्यक मापदण्डहरू पूरा गर्दै स्थानीय स्तरमै बालअधिकारको सुरक्षाका लागि सामुदायिक सहभागिता र संस्थागत संयन्त्रको सशक्तीकरण गरिएको छ ।





