डाँछी , मंसिर, २९ : कागेश्वरी मनोहरा नगरपालिका, काठमाडौँको स्वास्थ्य शाखाद्वारा सञ्चालित उप–प्रमुख प्रजनन स्वास्थ्य कार्यक्रम अन्तर्गत “गर्भवती महिलादेखि नवजात शिशुसम्म” अभियान स्वास्थ्य केन्द्र डाँछीमा सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रमअन्तर्गत १९ जना गर्भवती महिला दिदीबहिनीहरूलाई निःशुल्क अल्ट्रासाउन्ड सेवा प्रदान गरिएको छ।

यसअघि आलापोट स्वास्थ्य चौकिमा १५ जना र शहरी स्वास्थ्य केन्द्र अमरसिंहचोकमा १४ जना गर्भवती महिलाले सेवा पाएका छन् ।

यस सेवाले गर्भावस्थाको प्रारम्भिक अवस्थामै जोखिम पहिचान गर्न, सुरक्षित सुत्केरी सुनिश्चित गर्न तथा आमा र गर्भस्थ शिशुको स्वास्थ्य सुरक्षामा महत्वपूर्ण भूमिका खेलेको स्वास्थ्यकर्मीहरूले बताएका छन्।
नगरपालिकाले मातृ तथा नवजात शिशु मृत्युदर न्यूनीकरण, समयमै स्वास्थ्य परीक्षणको पहुँच विस्तार तथा नागरिकमैत्री स्वास्थ्य सेवाको प्रत्याभूति दिने उद्देश्यसहित यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको जनाएको छ।

स्थानीय तहबाटै प्रदान गरिने निःशुल्क स्वास्थ्य सेवाले गर्भवती महिलाहरूमा स्वास्थ्यप्रति चेतना बढाएको र सेवाग्राहीको सहभागिता उत्साहजनक रहेको बताइएको छ।
नगरपालिकाले आगामी दिनमा पनि मातृ–शिशु स्वास्थ्यलाई केन्द्रमा राखी यस्ता प्रभावकारी कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।





