कागेश्वरी मनोहराका मेयर कार्की एशिया–प्रशान्त स्थानीय सरकार परिषद् सदस्यमा निर्वाचीत

काठमाडौं, कार्तिक १७ : कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्की संयुक्त शहर तथा स्थानीय सरकार एशिया–प्रशान्त (UCLG ASPAC) को २०२५–२०२७ कार्यकालका लागि परिषद् सदस्यमा निर्वाचित हुनुभएको छ।

यो निर्वाचन हालै दक्षिण कोरियाको गोयाङ शहरमा सम्पन्न १०औँ (UCLG ASPAC) कांग्रेसमा सम्पन्न भएको हो। उक्त अवसरमा दक्षिण र दक्षिण–पश्चिम एसियाका सदस्य नगरपालिकाहरूले नगरप्रमुख कार्कीको उम्मेदवारीप्रति उच्च समर्थन जनाएका थिए। मेयर कार्की नेपाल नगरपालिका संघ बागमती प्रदेशका संयोजक समेत हुनुहुन्छ ।

कार्कीको यो निर्वाचिनले कागेश्वरी मनोहरा नगरपालिकामाथि क्षेत्रीय तथा अन्तर्राष्ट्रिय तहमा रहेको विश्वास, नेतृत्व क्षमता र प्रभावकारी कार्यशैलीको स्पष्ट प्रमाण प्रस्तुत गरेको नगरपालिकाले जनाएको छ।

परिषद् सदस्यका रूपमा नगर प्रमुख कार्कीले अब एशिया–प्रशान्त क्षेत्रका स्थानीय सरकारहरूको हित, नीति निर्माण तथा दिगो विकासका विषयमा प्रत्यक्ष प्रतिनिधित्व गर्ने अवसर पाउनु हुनेछ ।

नगरपालिकाका सम्पूर्ण नगरवासी, जनप्रतिनिधि तथा कर्मचारी परिवारले मेयर कार्कीलाई गौरवपूर्ण सफलतामा बधाई तथा शुभकामना समेत ब्यक्त गरेका छन्, नगरपालिकाले जारी गरेको बधाई सन्देशमा भनिएको छ

एशिया–प्रशान्त स्थानीय सरकार परिषद् सदस्यमा निर्वाचित भएपछि नगरप्रमुख उपेन्द्र कार्कीको भनाइ

म संयुक्त शहर तथा स्थानीय सरकार एशिया–प्रशान्त (UCLG ASPAC) को २०२५–२०२७ कार्यकालका लागि परिषद् सदस्यमा निर्वाचित हुन पाउँदा अत्यन्त गौरवान्वित र विनम्र महसुस गरिरहेको छु।

यो अवसर मलाई दक्षिण र दक्षिण–पश्चिम एसियाका सदस्य शहर तथा स्थानीय सरकारहरूले गोयाङ, दक्षिण कोरियामा सम्पन्न १०औँ UCLG ASPAC काँग्रेसका क्रममा प्रदान गर्नुभएको विश्वास र समर्थनको प्रतिफल हो।

यो उपलब्धि केवल व्यक्तिगत सफलता होइन, यो कागेश्वरी मनोहरा नगरपालिका र सम्पूर्ण नेपालका लागि गौरवको क्षण हो।
म यो जिम्मेवारीलाई विनम्रता, प्रतिबद्धता र जिम्मेवारीका साथ वहन गर्दै स्थानीय शासन सुदृढ गर्न, सहकार्य बढाउन र एशिया–प्रशान्त क्षेत्रको दिगो विकासका साझा उद्देश्यहरू पूरा गर्न सक्रिय रूपमा योगदान पुर्‍याउने प्रतिज्ञा गर्दछु।

म आफ्नो नगर, कागेश्वरी मनोहराका नागरिकहरू, सहकर्मीहरू र शुभेच्छुकहरूप्रति हृदयदेखि आभार व्यक्त गर्दछु — तपाईंहरूको निरन्तर समर्थन, माया र उत्साहकै कारण आज म यो सम्मानजनक भूमिकासम्म आइपुगेको छु।

हामी सबै मिलेर हाम्रो समुदायलाई इमानदारी, दृष्टि र समर्पणका साथ अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्न निरन्तर प्रयासरत रहनेछौं।

हार्दिक धन्यवाद।
— उपेन्द्र कार्की
नगरप्रमुख, कागेश्वरी मनोहरा नगरपालिका