काठमाडौं (मूलपानी), ५ भदौ – हरितालिका तीज २०८२ को अवसरमा नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं २ ले ‘राजनीतिमा महिला सहभागिता र राष्ट्रिय विकासमा त्यसको प्रभावकारिता’ विषयक विशेष कार्यक्रम आयोजना गर्ने भएको छ ।
मूलपानीस्थित रोयल प्यालेसमा शुक्रबार भव्य रुपमा आयोजना गरिन लागिएको कार्यक्रम दिनको १२ बजेका लागि तय गरिएको छ ।
नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. २ को आयोजना र नेपाल महिला संघ क्षेत्र, प्रदेश, कागेश्वरी मनोहरा र शंखरापुर नगरपालिकाका विभिन्न जनवर्गीय संगठनहरु तथा स्थानीय वडास्तरका समितिहरु सह-आयोजकका रुपमा रहेका छन् ।
कार्यक्रम नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महतको प्रमुख आतिथ्यतामा हुनेछ ।
कांग्रेस क्षेत्र नंं २ का सभापति कवीर शर्माले महिलाको हक, हित र अधिकारका विषयमा जनचेतना फैलाउने, उनीहरूको राजनीतिक सहभागिता अभिवृद्धि गर्ने तथा समाजमा सकारात्मक प्रभाव पार्ने उद्देश्यसहित कार्यक्रम आयोजना गर्न लागिएको बताउनुभयो ।
नेपाली महिलाहरूको महान चाड तीजको सन्दर्भमा आयोजना गरिएको यस कार्यक्रममा विभिन्न राजनीतिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहनेछ ।
त्यस्तै, कांग्रेस काठमाडौ क्षेत्र नंं २ का पूर्व क्षेत्रीय सभापति तथा कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले तीजको सांस्कृतिक महत्व जोड्दै धार्मिक तथा सांस्कृतिक पर्वले समाजमा समावेशी भावना, महिला सशक्तीकरण र सामाजिक एकता बलियो बनाउन भूमिका खेल्ने बताउनुभयो । साथै उहाँले कार्यक्रममा सहभागि हुन पनि सम्पूर्णमा आह्वान गर्नु भएको छ ।
महिलाको राजनीतिक सहभागिता अझै पनि चुनौतीपूर्ण अवस्थामा रहेको सन्दर्भमा यस्ता कार्यक्रमले महिला नेतृत्त्वको सम्भावनालाई उजागर गर्दै राष्ट्रिय विकासमा उनीहरूको योगदानलाई पहिचान गर्ने अवसर प्रदान गर्ने विश्वास गरिएको छ ।






