काठमाडौँ, कागेश्वरी मनोहरा — बागमती प्रदेश सरकारका खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्री कृष्णकुमार तामाङले आज कागेश्वरी मनोहरा नगरपालिकाभित्र सञ्चालनमा रहेका प्रमुख खानेपानी आयोजनाहरूको विस्तृत निरीक्षण गर्नुभएको छ। नगर क्षेत्रका डाँछी–भद्रबास, मुलपानी, गोठाटार र काँडाघारी खानेपानी आयोजनाहरूको संरचना, निर्माण प्रगति तथा सेवा वितरण अवस्थाबारे मन्त्री तामाङले स्थलमै पुगेर अवलोकन गर्नुभयाे।
निरीक्षणका क्रममा सम्बन्धित प्राविधिक टोली तथा शाखा प्रमुखहरूले प्रत्येक आयोजनाको वर्तमान अवस्था, चुनौती, पानी आपूर्तिको क्षमता, वितरण विस्तार, स्रोत संरक्षणका सम्भावना, बजेट आवश्यकता तथा दीर्घकालीन समाधानका विकल्पबारे विस्तृत प्राविधिक प्रस्तुति दिएका थिए।
विशेषगरी डाँछी–भद्रबास खानेपानी आयोजनामा भइरहेको संरचना विस्तार, मुहान संरक्षण, फिल्टर प्लान्टको अवस्था र सेवाग्राही पहुँचबारे मन्त्री तामाङले विशेष चासो व्यक्त गर्नुभएको थियो। त्यस्तै मुलपानी, गोठाटार र काँडाघारी क्षेत्रमा पानी वितरण लाइन सुधार, विस्तार र नियमित आपूर्ति सुनिश्चित गर्न आवश्यक प्रविधिक तथा वित्तीय सहयोगका विषयमा पनि विस्तृत छलफल भएको जनाइएको छ।
मन्त्री तामाङले नगरवासीले भोगिरहनुपरेका खानेपानी समस्या शीघ्र समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै स्वच्छ, गुणस्तरीय र भरपर्दो खानेपानी सेवा उपलब्ध गराउन आवश्यक सहयोग र समन्वय निरन्तर रहने आश्वासन दिनुभयो।
उहाँले जनसहभागिता, स्रोत संरक्षण, अव्यवस्थित वितरण लाइन व्यवस्थापन तथा भविष्यमेल खाने दीर्घकालीन पूर्वाधार निर्माणमा प्रदेश सरकार स्थानीय तहसँग नजिकको सहकार्यमा काम गर्न तयार रहेको पनि बताउनुभयो।
कागेश्वरी मनोहरा नगरपालिकाले मन्त्री तामाङ तथा प्रदेश सरकारप्रति नगरवासीको जीवनस्तर सुधारका लागि देखाइएको निरन्तर ध्यान र प्रतिबद्धताप्रति आभार व्यक्त गरेको छ। टोलिमा नगर प्रमुख उपेन्द्र कार्की र उपप्रमुख शान्ता थापालगायत जनप्र्हरु पनि सहभागी हुनुहुन्थ्यो ।





