काठमाडौ (काडाँघारी), साउन ३१: कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ मा अवस्थित हिमालय टोल सुधार समाजको २२ औं स्थापना दिवस विशेष कार्यक्रमका साथ भव्य र सभ्य रूपमा सम्पन्न गरिएको छ।

स्थापना दिवसको उद्घाटन नगर प्रमुख उपेन्द्र कार्कीले गर्नुभएको थियो। प्रमुख अतिथिका रूपमा बोल्दै नगर प्रमुख कार्कीले समाजले स्थानीय स्तरमा देखाएको सामाजिक सद्भाव, सामूहिक नेतृत्व र निरन्तर प्रगतिप्रति विशेष प्रशंसा व्यक्त गर्नुभयो।

‘हिमालय टोल सुधार समाजले कागेश्वरी मनोहरा नगरपालिकाभित्र उदाहरणीय रुपमा भूमिका निर्वाह गरिरहेको छ। समाजको अनुशासन, समर्पण र समुदायप्रतिको निष्ठा साँच्चिकै सिक्न लायक छ’, मेयर कार्कीले भन्नुभयो ।

उहाँले अगाडि थप्दै भन्नुभयो, ‘हिमालय टोलले जुन प्रतिबद्धताका साथ सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आइरहेको छ, त्यो स्थानीय सरकार र अन्य टोल विकास संस्थाहरूका लागि प्रेरणाको स्रोत हो। यस्ता संस्थाहरू नै समृद्ध नगरको आधारस्तम्भ हुन्। नगरपालिकाले यस्ता सामाजिक संस्था र पहललाई सधैं साथ दिनेछ।’

कार्यक्रममा नगरपालिकाका नगर प्रवक्ता तथा वडा नं. ८ का वडाध्यक्ष हरिभक्त पुडासैनी, वडा नं. ९ का अध्यक्ष अनिल थापा, वडा नं. ७ का अध्यक्ष भीमसेन थापा विशिष्ट अतिथिका रुपमा सहभागि रहनुभएको थियो।

कार्यक्रममा अन्य अतिथिहरूको रूपमा नगर सदस्यहरु राजेन्द्र थापा, भगवती पाण्डे, मन्जु थापा सिताराम आचार्य , भक्त थापा , छिमेकी टोल सुधार समाजका अध्यक्ष भाइगरथी पन्त, तुलसीप्रसाद आचार्य, मेलमिलाप समिति संयोजक लोकेन्द्र बस्नेत, टोल सुधार समाजका सल्लाहकार, पूर्व अध्यक्षहरु, स्थानीय स्थायी तथा अस्थायी बासिन्दाहरु लगायतको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रम समाजका अध्यक्ष गया प्रसाद उपाध्यायको सभापतीत्वमा सम्पन्न भएको थियो । स्थापना दिवसकै अवसरमा बिहान कलश यात्रा र पूजा आजाबाट सुरु भई तीजको दर सहित प्रसाद ग्रहण कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुतिहरु र समाजको प्रगति विवरण पनि प्रस्तुत गरिएको थियो।

कार्यक्रममा भाबकेशर बरालले स्वागत र गणेश बाबु पोखरेलले टोल सुधार समितिको प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रम टोल सुधार समाजका सचिव लीला दाहालले सञ्चालन गर्नु भएको थियो ।



















