काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिकामा मेट्रिक घर नम्बर प्रणालीमा आधारित दिम्याप्स (DMAPS) सफ्टवेयर सञ्चालनसम्बन्धी प्राविधिक तालिम सम्पन्न भएको छ। तालिममा नगरपालिकामा कार्यरत प्राविधिक कर्मचारीहरूको सहभागिता रहेको थियो।
नगर क्षेत्रमा रहेका घर तथा भवनको विवरणलाई डिजिटल नक्सासँग जोडेर व्यवस्थित अभिलेख तयार गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो।

नगरप्रमुख उपेन्द्र कार्कीले नगरपालिकामा घर नम्बर प्रणालीलाई वैज्ञानिक, व्यवस्थित र डिजिटल माध्यमबाट व्यवस्थापन गर्न तालिम सञ्चालन गरिएको बताउनुभयो। उहाँले नगरपालिकालाई प्रविधिमैत्री बनाउने लक्ष्यअनुसार DMAPS सफ्टवेयरमार्फत मेट्रिक घर नम्बर निर्धारण, भू–सूचना प्रणाली (GIS) आधारित विवरण प्रविष्टि, नक्सांकन तथा अभिलेख व्यवस्थापनलाई प्रभावकारी बनाइने बताउनुभयो।
तालिमका क्रममा सहभागीहरूलाई DMAPS सफ्टवेयर प्रयोग गर्ने विधि, घर नम्बर प्रविष्टि प्रक्रिया, तथ्यांक अद्यावधिक गर्ने तरिका, डिजिटल नक्सासँग विवरण जोड्ने अभ्यास तथा प्रतिवेदन तयार गर्ने विषयमा सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गरिएको थियो।

मेट्रिक घर नम्बर प्रणाली लागू भएपछि नगरपालिकालाई प्रविधिमैत्री बनाउन सहयोग पुग्ने, कर संकलन सहज हुने, आपतकालीन सेवा प्रभावकारी हुने तथा शहरी योजना र तथ्यांक व्यवस्थापनमा सुधार आउने नगरपालिकाले जनाएको छ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम सुवेदी, वडा नंं ४ का वडाध्यक्ष रामपणी पुडासैनी र वडा नं ६ का वडाध्यक्ष प्रकाश फुयाल, ९ वडाका वडाध्यक्ष अनील थापालगायत जनप्रतिनिधिहरुले पनि आआफ्नो धारणा राख्नु भएको थियो ।





