हेटौंडा, ४ भदौ — बागमती प्रदेश सरकारको समग्र विकास, सेवा प्रवाह सुधार, र स्थानीय तहसँगको समन्वय सुदृढ गर्न मुख्यमन्त्रीको सरकारी निवास हेटौंडामा आज महत्वपूर्ण छलफल सम्पन्न भएको छ।
छलफलमा मुख्यमन्त्री ईन्द्र बहादुर बानियाँसहित आन्तरिक मामिला मन्त्री शिवराज अधिकारी, आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङ, सामाजिक विकास मन्त्री कञ्चनचन्द्र वादे, खानेपानी तथा सिंचाई मन्त्री कृष्ण कुमार तामाङ (समिर) तथा सहकारी मन्त्री विनु रायमाझी सहभागी हुनुहुन्थ्यो ।

प्रदेश सरकारको समग्र नीति, कार्यक्रम र बजेट कार्यान्वयनमा स्थानीय तहको भूमिका निर्णायक हुने भन्दै नेपाल नगरपालिका संघका अध्यक्ष तथा नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीम प्रसाद ढुंगानाले प्रदेश नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिदैं आगामी दिनमा प्रदेश–स्थानीय तह सहकार्यलाई अझ संस्थागत बनाउन आग्रह गर्नुभयो। उहाँले स्थानीय तहका सरोकारका विषयलाई प्रदेश सरकारका नीतिमा समावेश गरिनुपर्नेमा जोड दिनुभयो।
संघका बागमती प्रदेश संयोजक तथा कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्की, संघका सल्लाहकार सरोज अधिकारी लगायतका प्रतिनिधिहरूले संघीयता सुदृढीकरण, योजना निर्माणमा समन्वय, स्रोत वितरणमा समानता, र बजेट कार्यान्वयनमा स्थानीय तहको सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिनु भएको थियो ।

मुख्यमन्त्री बानियाँले प्रदेश सरकार स्थानीय तहलाई समावेश गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै भन्नुभयो, ‘हामी समन्वय, सहकार्य र साझा दृष्टिकोणका आधारमा अगाडि बढ्नेछौं। जनताको विकास र समृद्धिको यात्रामा प्रदेश र स्थानीय तह हातेमालो गर्दै अघि बढ्नुको विकल्प छैन।’

छलफलमा प्रदेशले आगामी दिनमा ध्यान दिनुपर्ने प्राथमिकताका विषयहरूमा समेत गहन विचार विमर्श भएको थियो । समावेशी विकास, पूर्वाधार विस्तार, शिक्षा र स्वास्थ्यमा पहुँच, स्वच्छ खानेपानी, सिँचाइ सुविधा विस्तार, सहकारीको सुदृढीकरण, र रोजगारी सिर्जनालाई विशेष प्राथमिकतामा राखिने प्रतिबद्धता व्यक्त गरिएको छ।





