कागेश्वरी मनोहरा–६ का महिलाहरूलाई क्षमतावृद्धि तथा उद्घोषण तालिम


मूलपानी, मंसिर, २९ : कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर–६ का २४ जना महिलाहरूले क्षमतावृद्धि प्रशिक्षण तथा उद्घोषण तालिम सफलतापूर्वक सम्पन्न गरेका छन्। गत २१ गतेबाट सुरु भएको एक सातादिने तालिम औपचारिक रूपमा समापन गरिएको हो।

तालिम समापन कार्यक्रममा वडा अध्यक्ष प्रकाश फुयाल प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। कार्यक्रममा वडा सदस्य कपिल खनाल र विकास केसी, प्रशिक्षक गीता गौतम लगायतले सहभागी महिलाहरूलाई सम्बोधन गर्दै यस्तो तालिमले महिलाहरूको आत्मविश्वास अभिवृद्धि, नेतृत्व विकास तथा सार्वजनिक अभिव्यक्ति क्षमतामा उल्लेखनीय योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

तालिममार्फत महिलाहरूलाई सार्वजनिक बोलाइ, कार्यक्रम सञ्चालन, आत्मविश्वास विकास तथा नेतृत्व क्षमतामा सशक्त बनाउने उद्देश्य राखिएको थियो।

सहभागी महिलाहरूले तालिमले आफूहरूलाई सामाजिक तथा सामुदायिक गतिविधिमा अझ सक्रिय र प्रभावकारी भूमिका निर्वाह गर्न प्रेरणा मिलेको प्रतिक्रिया दिएका छन्।

वडाले आगामी दिनमा पनि महिला सशक्तीकरण र क्षमता विकासलाई प्राथमिकतामा राख्दै यस्ता सीपमूलक तथा व्यवहारिक तालिमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।