कागेश्वरी मनोहरालाई ‘सिताके च्याउ खेतीको हव’ बनाउने लक्ष्य कति पूरा भयो ?

थली,५ पुस : कागेश्वरी मनोहरा नगरपालिकाले नगरलाई सिताके च्याउ खेतीको हव बनाउने उद्देश्यसहित सुरु गरेको “मेयरसँग उद्यमशीलता कार्यक्रम” प्रारम्भिक चरणमै उल्लेखनीय उपलब्धि हासिल गर्न सफल भएको देखिएको छ।

नगर प्रमुख उपेन्द्र कार्कीको नेतृत्वमा गत आर्थिक वर्ष २०८१/०८२ देखि सुरु गरिएको उक्त कार्यक्रममार्फत नगरपालिकाले च्याउ खेतीलाई व्यावसायिक, दिगो र आयमुखी बनाउने लक्ष्य लिएको थियो। सो लक्ष्यतर्फ नगरपालिकाले पहिलो वर्षमै ठोस आधार तयार गरेको नगरपालिकाको मूल्यांकन छ।

कार्यक्रमको पहिलो चरणमा नगरपालिकाले ५ वटा कृषि सहकारीलाई ५० प्रतिशत अनुदान उपलब्ध गराउँदै सिताके च्याउ खेती सुरु गराएको थियो। नव कान्तिभैरव बहुउद्देश्यीय, गणनायक कृषि, करेसाबारी कृषि, मिलीजुली दिदीबहिनी कृषि तथा सिंहदेवी कृषि सहकारी संस्थामार्फत सुरु गरिएको खेती हाल व्यावसायिक उत्पादनको चरणमा प्रवेश गरिसकेको छ।

नगरपालिकाका अनुसार अहिले ती सहकारीहरूले नियमित रूपमा सिताके च्याउ उत्पादन गरिरहेका छन्, जसले कार्यक्रम व्यवहारिक र सफल रहेको संकेत गरेको छ।

प्रारम्भिक लगानी, प्राविधिक तालिम र बजार पहुँचको परीक्षण चरण सफल भएपछि नगरपालिकाले चालु आर्थिक वर्षमा कार्यक्रमलाई थप विस्तार गर्ने निर्णय गरेको हो।


यस वर्ष नगरपालिकाले २० वटा सहकारी तथा कृषि फर्ममा सिताके च्याउ खेती विस्तार गर्ने लक्ष्य लिएको छ। यसका लागि पनि ५० प्रतिशत अनुदानको व्यवस्था गरिएको छ।

यसले नगरपालिकाको लक्ष्य अब प्रयोगात्मक चरणबाट विस्तार र संस्थागत चरणमा प्रवेश गरेको स्पष्ट हुन्छ।
सहकारी तथा उद्यम विकास शाखाका अनुसार हालसम्म कार्यक्रमले
– स्थानीय उद्यमशीलता बढाएको
– सहकारीमार्फत सामूहिक कृषि प्रवर्द्धन गरेको
– रोजगारी सिर्जनामा योगदान पुर्‍याएको
– नगदे बालीमार्फत आम्दानीको नयाँ विकल्प दिएको
जस्ता सकारात्मक परिणाम देखाएको छ।

यद्यपि, नगरपालिकाले लक्ष्य पूर्ण रूपमा हासिल गर्न अझै उत्पादन परिमाण वृद्धि, प्रशोधन, ब्राण्डिङ र बजार व्यवस्थापनमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याएको छ। दीर्घकालीन रूपमा च्याउ खेतीलाई हवका रूपमा स्थापित गर्न निजी क्षेत्रको सहभागिता, निरन्तर प्राविधिक सहयोग र बजार सुनिश्चितता आवश्यक रहेको विज्ञहरूको भनाइ छ।

नगरपालिकाले भने पहिलो दुई वर्षको प्रगति सन्तोषजनक रहेको र आगामी वर्षहरूमा कार्यक्रमलाई अझ व्यवस्थित र व्यापक बनाउँदै लैजाने योजना रहेको जनाएको छ।