आनन्द भैरवका विद्यार्थीहरुको आँखा जाँच: २ सय २२ जनाको परीक्षण, २३ जनालाई चश्मा वितरण

काठमाडौं(मूलपानी): कागेश्वरी मनोहरा नगरपालिका–७ मा अवस्थित आनन्द भैरव माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई लक्षित गर्दै आँखा स्वास्थ्य जाँच कार्यक्रम सम्पन्न गरिएको छ।

उक्त कार्यक्रम कागेश्वरी मनोहरा नगरपालिका र बीपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्र, महाराजगन्जको संयुक्त आयोजनामा शुक्रबार सम्पन्न भएको हो।

कार्यक्रमका क्रममा विद्यालयका कुल २२२ जना विद्यार्थीको आँखा परीक्षण गरिएको विद्यालय प्रशासनले जनाएको छ। परीक्षणपछि दृष्टिदोष देखिएका २३ जना विद्यार्थीलाई निःशुल्क चश्मा वितरण गरिएको र १९ जना विद्यार्थीलाई थप उपचारका लागि अस्पतालमा रिफर गरिएको बताइएको छ।

कार्यक्रमले विद्यार्थीहरूमा आँखा स्वास्थ्यप्रति सचेतना बढाउने, बालबालिकामा दृष्टिसम्बन्धी समस्या पहिचान गर्न मद्दत गर्ने र विद्यालयस्तरमै स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्य राखेको आयोजकहरूले जनाएका छन्।

विद्यालय प्रशासनका अनुसार, यस्ता स्वास्थ्य–केन्द्रित कार्यक्रमहरूले विद्यार्थीहरूको शैक्षिक प्रदर्शन र समग्र जीवनस्तरमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

नगरपालिकाले आगामी दिनहरूमा अन्य विद्यालयहरूमा पनि यस प्रकारका निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने योजना बनाएको जनाएको छ।