काठमाडौं (कागेश्वरी धाम) भदौ १२ — ऐतिहासिक, धार्मिक र पर्यटकीय दृष्टिले विशेष महत्व बोकेको कागेश्वरी मेला यस वर्ष पनि भव्य रूपमा भदौ शुक्ल अष्टमी का दिन लाग्दैछ। कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित गागलफेदीको कागेश्वरी धाममा प्रत्येक वर्षको यो परम्परागत मेला लाखौं भक्तजनको सहभागीतामा आयोजना हुँदै आएको छ।

कागेश्वरी मन्दिर व्यवस्थापन समितिका अनुसार मेलाको लागि आवश्यक सम्पूर्ण तयारी भइरहेको छ । कागेश्वरी धाम पुग्न काठमाण्डौंबाट जोरपाटी–थली–डाँछी–ब्रह्मखेल–कागेश्वरी १ वडा कार्यालय गागल हुँदै पुग्न सकिन्छ। त्यस्तै, थली, भद्रवास, आलापोट हुँदै साविक गागलफेदी–कृष्णमन्दिर–अढुवाटी मार्ग तथा सुन्दरीजल–महाँकाल हुँदै सिंढी बाटो प्रयोग गरेर पनि कागेश्वरी पुग्न सकिन्छ।

मन्दिर व्यवस्थापन समितिले सबै भक्तजनलाई आ आफ्नो सुविधाअनुसारको बाटो प्रयोग गरी मेलामा सहभागिताको अनुरोध गरेको छ। यस मन्दिरको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्त्वलाई मध्यनजर गर्दै मेलामा ठूलो संख्यामा भक्तजनको सहभागिता हुने अपेक्षा गरिएको छ।

कागेश्वरी धामलाई धार्मिक तथा पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्न नगरपालिकाले विभिन्न पहल गर्दै आएको नगर प्रमुख उपेन्द्र कार्कीले बताउनुभयो । नगर प्रमुख कार्कीका अनुसार कागेश्वरी मनोहरा नगरपालिकाले धार्मिक पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यले “कागेश्वरी मनोहरा पर्यटन महोत्सव” निरन्तर रूपमा आयोजना गर्दै आइरहेको छ।

उहाँले कागेश्वरी धामको ऐतिहासिक, धार्मिक र प्राकृतिक विशेषतालाई उजागर गर्दै यस क्षेत्रलाई आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख गन्तव्य बनाउन नगरपालिकाको तर्फबाट आवश्यक सहयोग तथा पूर्वाधार विकासमा प्राथमिकता दिइएको जानकारी दिनुभयो।

“धार्मिक र सांस्कृतिक सम्पदाको संरक्षण हाम्रो कर्तव्य हो,” नगर प्रमुख कार्कीले भन्नुभयो, “कागेश्वरी धामजस्तो ऐतिहासिक महत्व बोकेको स्थलको विकास र प्रवद्र्धनले नगरको पहिचान अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न मद्दत पुर्याउँछ।”

कागे अष्टमीका अवसरमा लाग्ने यस मेलामा देशभरिबाट दर्शनार्थीहरूको व्यापक उपस्थिति हुने गरेको छ। धार्मिक किंवदन्तीअनुसार, परापूर्वकालमा एक गोठालाले कागले गाईको दूध शिवलिङ्गमा चढाइरहेको दृश्य देखेपछि यहाँ शिवको उपस्थितिको अनुभूति भएको र त्यसै दिनदेखि मेला लाग्ने परम्परा सुरु भएको मानिन्छ।
कागेश्वरी महादेवको मन्दिरमा हरियो मकै चढाएमा कागको स्पर्शबाट हुने अनिष्ट टर्छ भन्ने धार्मिक विश्वास अनुसार भक्तजनहरू धाममा पुग्ने गरेका छन्।

‘स्वस्थानी व्रतकथा’मा उल्लेख भएअनुसार, सत्ययुगमा सतीदेवीको अङ्ग पतन भई उत्पन्न भएको यो शिवलिङ्ग अहिले पनि श्रृद्धालुको आकर्षणको केन्द्र रहेको छ। मन्दिर परिसरमा रहेको छहरा र झरनाहरूले प्राकृतिक सौन्दर्य थप्ने हुँदा यो स्थान धार्मिक तिर्थस्थलसँगै पर्यटकीय गन्तव्यको रूपमा पनि लोकप्रिय बन्दै गएको छ।

यस वर्ष पनि मेलाका अवसरमा नेवार र तामाङ समुदायका सांस्कृतिक झाँकी, स्थानीय उत्पादनको प्रदर्शनी, धार्मिक अनुष्ठान, पूजा–आराधना, र भजन–कीर्तन कार्यक्रमहरू आयोजना गरिने तयारी भइरहेको छ।

धाम परिसरमा स्थापित नेपालकै सबैभन्दा ठूलो अष्टधातु निर्मित कागको मूर्ति २७ किलो यस वर्ष पनि दर्शनार्थीहरूको विशेष आकर्षणको केन्द्र हुने अपेक्षा गरिएको छ।

कागेश्वरी मनोहरा नगरपालिकाले यस अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ। साथै, नगरपालिकाले मन्दिर क्षेत्रलाई धार्मिक तथा पर्यटकीय तिर्थस्थलको रूपमा विकसित गर्ने योजनाअनुसार आवश्यक पूर्वाधार निर्माण तथा प्रचार–प्रसारमा सक्रियता बढाएको जनाएको छ।

मन्दिरमा भौतिक रूपमा उपस्थित हुन नसक्ने भक्तजनहरूका लागि हनुमानढोका र पशुपति क्षेत्रका कागेश्वरी मन्दिरहरूमा पनि पूजा, आराधना र दर्शनको व्यवस्था हुने बताइएको छ।

यस वर्षको कागेश्वरी मेला धार्मिक आस्था, सांस्कृतिक विविधता र सामाजिक एकताको प्रतिबिम्बका रूपमा सम्पन्न हुने नगरपालिकाले जनाएको छ।





