काठमाडौं : कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामासहित मन्त्रीहरुसँग भेटघाट गर्नु भएको छ । प्रदेश सरकारको कार्यालयमा हेटौडा पुगेर मेयर कार्कीले मुख्यमन्त्री लामासहितका मन्त्रीहरुसँग नगरपालिकाका विभिन्न योजनाको बारेमा छलफल गर्नु भएको छ ।

भेटमा मुख्यमन्त्री लामाले वडा नंं ६ मूलपानी खानेपानी र गोठाटार खानेपानी आयोजनाको लागि बजेटको सुनिश्चितता गर्ने प्रतिबद्धता जनाउनु भएको छ । दुबै योजना अब बहुवर्षीय ठेक्कामा जने भएका हुन । नगर प्रमुख कार्कीले बागमती प्रदेशका मुख्यमन्त्री लामा र खानेपानी मन्त्री श्याम खड्कासँग माग गर्नु भएपछि बजेटको सुनिश्चितता भएको हो ।

भेटमा मुख्यमन्त्री लामाले ठेक्का अबको केहि दिनमा नै स्रोत सुनिश्चितता भएर अगाडी बढाउने र नगरपालिकाको बन्दै गरेको नयाँ प्रशासकीय भवनको लागी पनि माग बमोजिम रकम बिनियोजित गर्ने प्रतिबद्धता गर्नु भएको छ ।

त्यस्तै, नगर प्रमुख कार्कीले अन्य विभिन्न मन्त्रीहरुसँग पनि भेटघाट गरि आवश्यक योजना र बजेटको लागि पहल गर्नु भएको छ । भेटघाटको क्रममा पर्यटन तथा सहकारी मन्त्री बिमल ठकुरीले कागेश्वरी मनोहरा नगरपालिका अन्तर्गत कागेश्वरी धाम मन्दिरलाई पर्यटकीय स्थल बनाउने र उक्त्त मन्दिरलाई पर्याप्त रकम छुट्याउने, नगरपालिका अन्तर्गतका सबै वडाहरुमा आवश्यक मन्दिर संरक्षण, पार्कहरु निर्माण लगायतका बिषयमा छलफल भएको छ ।

नगरपालिका अन्तर्गतको बिपद ब्यवस्थापन लगायतको बिषयमा संघिय मामिला तथा कानुन मन्त्री सुरज चन्द्र लामिछानेसँग समेत कुराकानी भएको मेयर कार्कीले बताउनुभयो । भेटघाटमा कांग्रेस काठमाडौं क्षेत्र नंं २ का क्षेत्रीय सभापती कविर शर्मा र मेयर कार्कीका स्वकीय सचिव सुवास फुयाललगायत सहभागि हुनुहुन्थ्यो ।





