गोठाटार : शनिबार युरो किड्स/युरो स्कुल पेप्सीकोला गोठाटारले हजुरबुबा–हजुरआमा दिवस उत्साह, सम्मान र भावनाले भरिपूर्ण वातावरणमा मनाएको छ। प्ले–ग्रुपदेखि प्रिस्कुल तहका बालबालिकाले प्रस्तुत गरेका गीत, नृत्य, कराते डेमोन्स्ट्रेशन तथा विविध सांस्कृतिक कार्यक्रमले अभिभावक, हजुरबुबा–हजुरआमा र अतिथिलाई मन्त्रमुग्ध पारेको छ।
‘बच्चाको पहिलो शिक्षक हजुरबुबा–हजुरआमा’ भन्ने मूल भावनामा केन्द्रित कार्यक्रम अभिभावकहरूको उल्लेखनीय सहभागितासहित सफल र प्रभावशाली बनेको छ।

मुख्य अतिथि कागेश्वरी मनोहरा–८ का वडाध्यक्ष हरिभक्त पुडासैनीले विद्यालयले छोटो समयमा नै समुदायमा सकारात्मक प्रभाव जमाउन सफल भएको बताउनुभएको छ। उहाँले भन्नुभयो, “युरो किड्स गोठाटार बालमैत्री सिकाइको उत्कृष्ट उदाहरण बन्दै गएको छ। वडा कार्यालयबाट आवश्यक सहयोग सधैं उपलब्ध हुनेछ।”
अध्यक्ष नवराज काफ्लेले हजुरबुबा–हजुरआमाको भूमिका बालबालिकाको संस्कार र मूल्य शिक्षामा अत्यन्त महत्वपूर्ण हुने बताउनुभयो। उहाँले भन्नुभयो, “यो दिवस केवल औपचारिक कार्यक्रम होइन, तीन पुस्ताबीचको भावनात्मक सम्बन्ध अझ प्रगाढ बनाउने अवसर हो।”

त्यसैगरी, प्रबन्ध निर्देशक हेमन्त गौतमले विद्यालय विस्तारका योजनाबारे जानकारी दिँदै भन्नुभयो, “आगामी शैक्षिक सत्र २०८३ देखि कक्षा १ सञ्चालन गर्ने निर्णय गरिएको छ। हरेक वर्ष एक कक्षा थप्दै विद्यालयलाई व्यवस्थित रूपमा अगाडि बढाइनेछ।”
प्रिन्सिपल सम्झना गिरीले गतिविधि–आधारित सिकाइले बालबालिकाको आत्मविश्वास, सिर्जनशीलता र सामाजिक विकासमा ठूलो योगदान पुर्याइरहेको बताउनुभयो।
स्कुल कोर्डिनेटर रश्मी सुवालले नियमित अभ्यास र निरन्तर प्रोत्साहनकै कारण बालबालिकाको प्रस्तुति क्षमतामा उल्लेखनीय सुधार आएको बताउनुभयो। उहाँले भन्नुभयो, “हरेक बच्चामा फरक–फरक प्रतिभा हुन्छ, यस्ता कार्यक्रमले ती प्रतिभा उजागर गर्न मद्दत गर्छ।”

कार्यक्रममा उपस्थित हजुरबुबा–हजुरआमाले नातिनातिनीका प्रस्तुतिले आफूहरू गर्वित, खुशी र भावुक बनेको बताउँदै विद्यालयको शिक्षण पद्धति अत्यन्त प्रभावकारी रहेको धारणा व्यक्त गरे।
१४ सयभन्दा बढी शाखा रहेको अन्तर्राष्ट्रिय युरो किड्स नेटवर्कअन्तर्गतको गोठाटार शाखा छोटो समयमै ‘लगनशील र परिणाममुखी विद्यालय’का रूपमा अभिभावकको विश्वास जित्न सफल भएको विद्यालयले जनाएको छ।
गतिविधि–आधारित सिकाइ, अनुभवी शिक्षक, सुरक्षित तथा आकर्षक वातावरण, आधुनिक शिक्षण विधि र व्यक्तिगत हेरचाहले यसलाई समुदायको प्रमुख रोजाइ बनाएको बताइएको छ।

कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्दै विद्यालयले आगामी दिनमा अझ प्रभावकारी, आधुनिक र बालमैत्री कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ।





