एकता र सुधारको प्रतीक : टलक्क टल्कियो हिमालय टोल

काठमाडौ (सनसिटी): नेपालीहरूको महान चाडपर्व दशैं, तिहार र छठको अवसरमा कागेश्वरी मनोहरा नगरपालिका वडा नंं ९ मा अवस्थित हिमालय टोल सुधार समाजले टोलका मुख्य तथा शाखा बाटोहरूमा व्यापक सरसफाई तथा रङ्ग–रोगन कार्यक्रम सम्पन्न गरेको छ।

यस अभियानअन्तर्गत टोलका वाल र पोलहरूमा आकर्षक रंगहरू लगाइए, बाटो–घट्ठा सफा गरियो र वातावरणलाई चाडपर्वको माहोलमा झल्काउने गरी सजाइयो।

कार्यक्रममा टोलका बासिन्दा, युवा स्वयंसेवक, बालबालिका र समाजका पदाधिकारीहरूको सक्रिय सहभागिता रह्यो। सबैको संयुक्त प्रयासले टोल अझ स्वच्छ, सुन्दर र रमणीय देखिन थालेको छ।

समाजका प्रतिनिधिहरूका अनुसार हामी सबै मिलेर टोल सफा राख्न सके भने हाम्रो समुदाय अझ स्वस्थ, रमाइलो र एकताबद्ध बन्न सक्छ। यो अभियान त्यसै दिशातर्फको एउटा सानो तर सार्थक कदम हो।

यस अभियानलाई सफल बनाउन सहयोग पुर्‍याउने सबै सहयोगी हातहरू— टोलवासी, युवाहरू, समाजका सदस्यहरू र शुभेच्छुकहरूलाई हिमालय टोल सुधार समाजले हार्दिक धन्यवाद ज्ञापन गरेको छ।