बालश्रममुक्त वडा घोषणाको अन्तिम तयारीमा कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ७

काठमाडौं (मूलपानी), भदौ १७ — अन्तर्राष्ट्रिय बाल दिवसको अवसर पारेर कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ७ लाई बालश्रममुक्त वडा घोषणा गर्ने लक्ष्यसहित तयारी ब्यापक बनाइएको छ । वडा कार्यालय र नगरपालिकाको महिला, बालबालिका शाखाले घोषणा गर्ने दिन नजिकिंदै गर्दा तयारी अन्तिम चरणमा पुगेको जनाएका छन् ।

वडाभित्र सञ्चालित व्यवसाय, उद्योग, पसल तथा कारखानाहरूमा बालश्रम प्रयोग भए/नभएको अवस्था पत्ता लगाउन व्यापक अनुगमन गरिएको छ। वडा बालअधिकार समितिका संयोजक तथा कार्यवाहक वडाध्यक्ष भक्त विक्रम थापा नेतृत्वमा नगरपालिकाको महिला, बालबालिका शाखा प्रमुख सविना श्रेष्ठ सहितका प्रतिनिधिहरू, वडा सचिव बासुदेव थापा तथा अन्य कर्मचारीहरूको सक्रिय सहभागितामा अनुगमन कार्य सफलतापूर्वक सम्पन्न भएको हो।

यस क्रममा व्यवसायिक क्षेत्रमा बालश्रम प्रयोगका जोखिम र निवारणका उपायहरूबारे सचेतना अभिवृद्धि गर्न बालश्रम निवारणमा बाल क्लब तथा सञ्जालको भूमिकाू विषयक अन्तरक्रिया कार्यक्रम समेत आयोजना गरिएको छ । कार्यक्रममा स्थानीय बाल क्लबहरू, अभिभावक, शिक्षक तथा सरोकारवाला निकायको उल्लेखनीय उपस्थिति रहेको थियो।

त्यसैगरी, व्यवसाय सञ्चालकहरूलाई लक्षित गरी सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । कार्यक्रममा बालश्रमका नकारात्मक प्रभाव, कानुनी प्रावधानहरू तथा बालमैत्री समाज निर्माणमा सबैको सहभागिताको आवश्यकता माथि छलफल गरिएको थियो । कार्यक्रमहरूबाट प्राप्त सकारात्मक सन्देशका आधारमा वडा नं. ७ लाई यही २९ गते बालश्रममुक्त वडा घोषणा गर्ने तयारी भइरहेको वडा कार्यालयले जनाएको छ।

हालसम्म वडा नं ५ बालश्रममुक्त घोषणा भइसकेको छ । अन्य वडाहरूमा पनि उच्च प्राथमिकताका साथ अनुगमन र निरीक्षणका गतिविधिहरू सञ्चालन भइरहेका छन्।

वडा नम्बर ८ र ९ मा भने अझै सर्वेक्षण र अनुगमन कार्य बाँकी रहेको नगरपालिकाको महिला, बालबालिका तथा समाजकल्याण शाखा प्रमुख सविना कुमारी श्रेष्ठले जानकारी दिनु भयो । ती वडामा पनि निकट भविष्यमा नै अभियान सन्चालन गर्ने तयारी रहेको छ ।

नगरपालिकालाई आगामी दुई वर्षभित्र पूर्ण रूपमा बालश्रममुक्त बनाउने लक्ष्यसहित काम अघि बढिरहेको नगर प्रमुख उपेन्द्र कार्कीले बताउनुभयो । प्रमुख कार्कीका अनुसार बालश्रम अन्त्यका लागि अनुगमन र जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने काम भइरहेको छ । साथै घोषणा गर्न आवश्यक पर्ने सूचकलाई आधार बनाएर प्रत्येक घरपरिवार र समुदायको अवस्थाको समेत अभिलेखीकरण भइरहेको छ ।