कागेश्वरी मनोहरामा महिला सशक्तीकरण तथा मानसिक स्वास्थ्य सचेतना अभियान सम्पन्न

काठमाडौँ (थली), ४ पुष :कागेश्वरी मनोहरा नगरपालिकाले महिला सशक्तीकरण, मानसिक स्वास्थ्य प्रवर्द्धन तथा महिलाको जीवन रक्षासँग प्रत्यक्ष सम्बन्धित विषयलाई केन्द्रमा राखी सञ्चालन गरेको मनोसामाजिक परामर्श तथा स्तन र पाठेघरको क्यान्सरसम्बन्धी सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

वडा नं. १ देखि ९ सम्म सञ्चालन गरिएको उक्त सचेतना अभियानमा महिला समूह तथा संस्थाका पदाधिकारीहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममार्फत महिलाहरूलाई मानसिक स्वास्थ्य, क्यान्सरसम्बन्धी प्रारम्भिक पहिचान तथा रोकथामका विषयमा जानकारी प्रदान गरिएको थियो।

महिलाहरू सचेत, सक्षम र आत्मनिर्भर भए मात्र परिवार, समाज र राष्ट्र समुन्नत हुने विश्वासका साथ यस्ता स्वास्थ्य–मुखी तथा चेतनामूलक कार्यक्रमहरूलाई आगामी दिनहरूमा पनि निरन्तरता दिइने नगरपालिकाले जनाएको छ।

कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने महिला समूह तथा संस्था, स्वास्थ्यकर्मी, सहजकर्ता तथा सहभागीहरूप्रति नगरप्रमुख उपेन्द्र कार्कीले आभार व्यक्त गर्नुभएको छ।