काठमाडौं (थली), पौष २ : काठमाडौं उपत्यकाभित्र तीव्र रूपमा बस्ती विस्तार भइरहेको कागेश्वरी मनोहरा नगरपालिका पछिल्ला वर्षहरूमा देशकै सबैभन्दा बढी मानिसहरू बसाइँ सर्ने स्थानीय तहका रूपमा चिनिन थालेको छ।

नगरपालिकासँग उपलब्ध आप्रवासनसम्बन्धी तथ्यांकअनुसार देशका विभिन्न जिल्लाबाट रोजगारी, शिक्षा, स्वास्थ्य र सुविधाको खोजीमा यहाँ बसाइँ सर्नेहरूको संख्या निरन्तर बढ्दो क्रममा छ।
यसैबीच, घर नक्सा पाससम्बन्धी हालैको तथ्यांकले पनि नगरपालिकामा बस्ती निर्माण तीव्र गतिमा अघि बढिरहेको स्पष्ट देखाएको छ।

आर्थिक वर्ष ०८२/८३ मंसिर सम्म नगरपालिकाबाट २६५ वटा नयाँ घर नक्सा पास भएका छन्। सोही अवधिमा २०१ वटा सुपर स्ट्रक्चर स्वीकृत, २९६ वटा निर्माण सम्पन्न, १४९ वटा नामसारी, १० वटा नवीकरण सम्बन्धी सेवा प्रदान गरिएको नगरपालिकाको विवरणमा उल्लेख छ।

त्यस्तै, मंसिरमा मात्र ८५ वटा घर नक्सा पास भएकोमा सबैभन्दा बढी वडा नंं ६ स्थित मूलपानीमा भएको देखिन्छ । मूलपानीमा १६ वटा नक्सापास हुँदा वडा नंं ८ मा १४, वडा नंं ४ मा १३, वडा नंं ५ मा १२, वडा नंं ९ मा ७ , वडा नंं १ मा ६ र वडा नंं ३ मा ५ वटा भएको पाइएको छ । वडा नंं २ मा भने एकवटा पनि भएको छैन ।

नगरका विभिन्न वडामा एकैसाथ घर निर्माण, अपार्टमेन्ट, भाडा प्रयोजनका भवन तथा व्यवस्थित आवासीय क्षेत्रहरू विकास हुँदै गएका छन्। यसले बढ्दो आप्रवासन, जनघनत्व वृद्धि र शहरीकरणको तीव्रतालाई प्रत्यक्ष रूपमा पुष्टि गरेको नगरपालिकाको भनाइ छ।

बढ्दो बस्ती विकाससँगै कागेश्वरी मनोहरा नगरपालिकाले योजनाबद्ध शहरी विकास, व्यवस्थित बस्ती निर्माण, सडक, खानेपानी, ढल र फोहोर व्यवस्थापन जस्ता पूर्वाधार विस्तारलाई प्राथमिकतामा राखेर काम अघि बढाइरहेको जनाएको छ। नगर नेतृत्वले कागेश्वरी मनोहरालाई सुरक्षित, व्यवस्थित र आधुनिक शहरी केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।





