काठमाडौँ, पुस २ : नगर विकासलाई अनुसन्धान, सर्वेक्षण र तालिममार्फत नयाँ उचाइमा पुर्याउने उद्देश्यसहित काठमाडौं विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट (कुसोम) र कागेश्वरी मनोहरा नगरपालिकाबीच समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भयो।
सन् १९९३ मा स्थापना भएको अग्रणी व्यवस्थापन शिक्षण संस्था कुसोम र कागेश्वरी मनोहरा नगरपालिकाबीच बुधबार औपचारिक रूपमा सम्झौता सम्पन्न भयो। कुसोमका तर्फबाट डिन प्राध्यापक डा. विजय केसी र नगरपालिकाका तर्फबाट नगर प्रमुख उपेन्द्र कार्कीले समझदारी पत्रमा हस्ताक्षर गर्नुभयो।
हस्ताक्षर कार्यक्रममा कुसोमका सहायक प्राध्यापक डा. लालबहादुर पुन र कागेश्वरी मनोहरा नगरपालिकाकी वरिष्ठ अधिकृत सङ्गीता घिमिरे साक्षीका रूपमा सहभागी हुनुभयो।
समझदारीअनुसार दुबै संस्थाले नगरपालिकाको प्राथमिकताअनुसार विभिन्न क्षेत्रमा अनुसन्धान तथा सर्वेक्षण गर्नेछन्। साथै युवा, महिला, लघु, साना तथा मझौला उद्यम (एमएसएमई) र अगुवा कृषकहरूलाई लक्षित गर्दै उद्यमशीलता विकास र व्यवसाय प्रवर्द्धनका कार्यक्रम संयुक्त रूपमा सञ्चालन गरिनेछ।

स्थानीय व्यवसायी, किसान तथा उद्यमीहरूको क्षमता अभिवृद्धि र सीप विकासका लागि तालिम सञ्चालन गर्ने, नगरपालिका सम्बन्धी नीतिहरूको समीक्षा, विश्लेषण तथा अनुसन्धान गर्ने विषय पनि सम्झौतामा समावेश गरिएको छ। यसैगरी कुसोमका विद्यार्थीहरूलाई अनुसन्धान, सर्वेक्षण र फिल्डवर्कमा संलग्न गराउने व्यवस्था पनि गरिएको छ।
सहकार्यलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न दुबै पक्षले आ–आफ्ना प्रतिनिधि तोक्ने सहमति गरेका छन्। समझदारी पत्र तीन वर्षका लागि लागू हुने र आपसी सहमतिमा नवीकरण गर्न सकिने उल्लेख गरिएको छ। कुनै पनि पक्षले छ महिनाको लिखित सूचना दिएर सम्झौता अन्त्य गर्न सक्ने व्यवस्था समेत गरिएको छ। सम्झौता समाप्त भए पनि सुरु भइसकेका कार्यक्रमहरू आपसी सहमतिअनुसार सम्पन्न गरिने प्रावधान राखिएको छ।
यसैगरी सम्झौता कार्यान्वयनका क्रममा कुनै विवाद उत्पन्न भएमा आपसी छलफलमार्फत समाधान खोजिने र असाधारण परिस्थितिमा दुबै पक्ष जिम्मेवार नहुने व्यवस्था पनि समझदारी पत्रमा समेटिएको छ।
शैक्षिक संस्था र स्थानीय तहबीचको यो सहकार्यले अनुसन्धान, नीति निर्माण र उद्यमशीलता विकासमार्फत कागेश्वरी मनोहरा नगरपालिकाको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।





