कागेश्वरी मनोहरा नगर अस्पतालको सय शैय्या स्तरोन्नति योजनाअन्तर्गत सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

काठमाडौं – कागेश्वरी मनोहरा नगरपालिकाद्वारा सञ्चालित नगर अस्पतालले सय शैय्या स्तरोन्नतिको तयारी अन्तर्गत आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रम आज अत्यन्तै सभ्य, शालीन र सार्थक वातावरणमा सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रममा स्थानीय नागरिक, सरोकारवाला, स्वास्थ्यकर्मी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो। सार्वजनिक सुनुवाइको उद्देश्य अस्पतालको १०० शैय्या स्तरोन्नति योजनाअन्तर्गत आवश्यक प्रारम्भिक वातावरणीय परीक्षण (IEE) का सम्बन्धमा राय, सुझाव र परामर्श संकलन गर्नु रहेको थियो।

कार्यक्रममा यस योजनाले स्थानीय वातावरण, समुदाय र स्वास्थ्य सेवामा पार्न सक्ने सम्भावित प्रभावहरू, तिनका न्यूनीकरण उपायहरू तथा आगामी कार्यदिशासम्बन्धी विषयहरू विस्तृत रूपमा प्रस्तुत गरियो। सहभागी सरोकारवालाहरूले राखेका मूल्यवान् सुझाव, प्रश्न र परामर्शहरूले योजनाको प्रगतिको मार्ग अझ स्पष्ट र उत्तरदायी बनाइदिएको छ।

कार्यकारी निर्देशक रामप्रसाद पौडेलका अनुसार, बागमती प्रदेश सरकारबाट अस्पताललाई सय शैय्यामा स्तरोन्नति गर्ने प्रस्ताव स्वीकृत भइसकेको छ। अब प्राप्त सुझाव र निष्कर्षका आधारमा परियोजना कार्यान्वयनका थप चरण अघि बढाइनेछ।

नगरप्रमुख उपेन्द्र कार्कीले स्तरोन्नतिसँगै अस्पतालमा आधुनिक शल्यक्रिया कक्ष, प्रसूति गृह, आइसीयू, एनआइसीयू, डायलाइसिस, ट्रमा सेन्टर र ल्याब सेवाको विस्तार गरिने बताउनुभयो। उहाँले जनताको विश्वास र सहभागिताले अस्पताललाई प्रदेशकै नमुना स्वास्थ्य संस्था बनाउन थप ऊर्जा प्रदान गरेको समेत उल्लेख गर्नुभयो।

हाल दैनिक एक हजारभन्दा बढी बिरामीले सेवा लिँदै आएको कागेश्वरी मनोहरा नगर अस्पतालले चौबिसै घण्टा आकस्मिक सेवा, १९ भन्दा बढी विशेषज्ञ सेवा, प्रसूति, खोप, डट्स, फिजियोथेरापी, मोतियाबिन्दु शल्यक्रिया र सस्तो औषधि सेवा प्रदान गर्दै आएको छ।

अस्पताल प्रशासनले सार्वजनिक सुनुवाइमा प्राप्त सुझाव र विश्वासलाई आत्मसात गर्दै आगामी दिनहरूमा अझ पारदर्शी, उत्तरदायी र सेवा–केन्द्रित भएर अगाडि बढ्ने दृढ प्रतिबद्धता जनाएको छ। सय शैय्या अस्पताल सञ्चालनमा आएपछि नर्सिङ शिक्षा सुरु गर्ने तयारी समेत रहेको अस्पतालले जनाएको छ।