काठमाडौं: कागेश्वरी मनोहरा नगरपालिकाले जनतालाई छिटो, छरितो, प्रभावकारी र नागरिकमैत्री सेवा दिन ‘एक ढोका, सम्पूर्ण सेवा प्रणाली’ पुनः सञ्चालनमा ल्याएको छ। गत बैशाखदेखि सुरु गरिएको भए पनि प्राविधिक र व्यवस्थापकीय कमजोरीका कारण पूर्णरूपमा कार्यान्वयनमा आउन नसकेको यो प्रणाली अब भने सशक्त रूपमा अघि बढाइएको छ।
गत वैशाख २ गतेदेखि औपचारिकरूपमा कार्यान्वयनमा आएको सेवा प्रणाली सबै शाखा प्रमुखहरू एकै स्थानमा स्थायी रूपमा बस्न नसक्दा क्रमिक रूपमा कमजोर हुँदै गएको थियो। अहिले भने नगरपालिकाले सबै शाखा प्रमुखलाई एउटै स्थानमा राखेर सेवाग्राहीले सजिलै एउटै ढोका भएर सम्पूर्ण सेवा प्राप्त गर्न सक्ने वातावरण बनाएको छ।
नगर प्रमुख उपेन्द्र कार्कीका अनुसार अब नगरवासीले प्रमाणपत्र, कर, सिफारिस, निवेदन वा अन्य कुनै सेवा लिन फरक–फरक शाखा धाउनुपर्ने छैन। एकै स्थानमा सम्पूर्ण सेवा उपलब्ध हुँदा समय, झन्झट र दौडधुप कटौती हुने विश्वास गरिएको छ। उहाँले मुस्कानसहित सेवा दिने अवधारणालाई पनि एक ढोका प्रणालीको मूल आत्मा बनाइएको स्पष्ट पार्नुभयो ।
कागेश्वरी मनोहरा नगरपालिका महिला, दलित, अपाङ्गता भएका व्यक्ति तथा सेवामा पहुँचमा चुनौती भोगिरहेका समुदायप्रति विशेष संवेदनशील बनेको छ। सेवा प्रणालीलाई यी वर्गले सहज रूपमा उपयोग गर्न सकून् भनेर विशेष ध्यान दिइएको छ।
सेवामा पारदर्शिता, समन्वय, समयको बचत र जनउत्तरदायी शासनतर्फको यो प्रयासले स्थानीय तहमा नागरिकले प्रत्यक्ष अनुभूति गर्न सक्ने परिवर्तन ल्याएको छ। नगरपालिकाले यसलाई निरन्तर सुधार गर्दै थप प्रविधिमैत्री बनाउने प्रतिबद्धता पनि जनाएको छ।
एकै छानामुनि सबै सेवा पाइने सुविधाले नागरिकको प्रशासनप्रतिको अनुभवलाई नयाँ ढंगले परिभाषित गरिदिएको छ। यदि यस्तो प्रणालीलाई दिगो र गुणस्तरीय बनाउँदै लगियो भने यो केवल कागेश्वरी मनोहरा नगरपालिकाका लागि होइन, समग्र स्थानीय शासन प्रणालीका लागि पनि प्रेरणादायी मोडेल बन्न सक्नेछ।





