विद्यार्थीहरूको नवप्रवर्तनले चम्कियो नेक्सस एकेडेमीको विज्ञान प्रदर्शनी, करिब दुई हजारले गरे अवलोकन

काठमाडौं (पेप्सीकोला): नेक्सस इन्टरनेशनल एकेडेमीले आयोजना गरेको वार्षिक विज्ञान प्रदर्शनी उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। विद्यार्थीहरूले रोबोटदेखि हाइड्रो पावर परियोजनासम्मका विविध वैज्ञानिक आविष्कारहरू प्रस्तुत गर्दै, सिर्जनात्मकता र व्यवहारिक ज्ञानको सशक्त प्रदर्शन गरेका थिए।

प्रदर्शनीको अवलोकन गर्दै विद्यालयका संस्थापक–प्रिन्सिपल आर.बी. कटवालले विद्यार्थीहरूको वैज्ञानिक दृष्टिकोण र नवप्रवर्तनशील क्षमताको प्रशंसा गर्नुभयो।

उहाँका अनुसार विद्यार्थीहरूका परियोजनाहरूले उनीहरूमा लुकेको आविष्कार शक्ति र भविष्यदृष्टि उजागर गरेका छन्, विशेषतः हाइड्रो पावर र कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिसँग सम्बन्धित कार्यहरूले देशको ऊर्जा र प्रविधि सम्भावनामा नयाँ आशा जगाएका छन्।

कार्यक्रममा विद्यार्थीहरूले आफ्ना परियोजनाहरूको कार्यविधि, प्रयोग र व्यवहारिक प्रभावबारे दर्शकहरूलाई विस्तृत रूपमा जानकारी गराए। हाइड्रो पावरको सजीव नमूना प्रदर्शनीको मुख्य आकर्षण रह्यो, जसमा विद्यार्थीहरूले सानो टर्बाइन र पानीको प्रवाहमार्फत विद्युत उत्पादनको सिद्धान्त व्यावहारिक रूपमा देखाएका थिए।

अभिभावक, शिक्षक र स्थानीय समुदायका सदस्यहरूको उल्लेखनीय सहभागितासहित करिब १५ सयभन्दा बढी दर्शकहरूले प्रदर्शनीको अवलोकन गरेका थिए। उपस्थित सबैले यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूमा अनुसन्धान, आविष्कार र समस्या समाधानको क्षमता विकासमा ठोस योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

विद्यालयले विज्ञान प्रदर्शनीलाई केवल प्रदर्शनको कार्यक्रम नभई विद्यार्थीहरूलाई व्यवहारिक शिक्षातर्फ उन्मुख गराउने शैक्षिक अभ्यासका रूपमा व्याख्या गरेको छ। संस्थाका अनुसार, यस्तो पहलले विद्यार्थीहरूलाई विज्ञान, प्रविधि र ऊर्जा विकासका क्षेत्रमा भविष्यका नेतृत्वकर्ताका रूपमा तयार पार्ने लक्ष्य लिएको छ।