कागेश्वरी मनोहरा नगर अस्पतालमा मेडिकल काउन्सिलको टोलीद्वारा अवलोकन, नयाँ विशेषज्ञ सेवा सञ्चालनबारे छलफल

बाबाचोक (कागेश्वरी मनोहरा)–कागेश्वरी मनोहरा नगर अस्पतालमा आइतबार नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा सतीश कुमार देव र उहाँको टोलीले अवलोकन भ्रमण गर्नुभएको छ। भ्रमणका क्रममा अस्पतालको सेवा–सुविधा, पूर्वाधार तथा स्वास्थ्य सेवा विस्तारका योजनाबारे विस्तृत जानकारी लिदै नयाँ विशेषज्ञ सेवा सञ्चालनबारे बृहत छलफल सम्पन्न गरिएको थियो।

डा. देवले नगर प्रमुख उपेन्द्र कार्की र अस्पताल प्रशासन प्रमुुख रामप्रसाद सापकोटालगायत अस्पताल प्रशासनसँगको बैठकमार्फत सेवा गुणस्तर अभिवृद्धि, दक्ष जनशक्ति परिचालन र जनमैत्री स्वास्थ्य सेवा प्रवर्द्धनका लागि सल्लाह र मार्गनिर्देशन प्रदान गर्नुभएको थियो। उहाँको भ्रमणले अस्पतालमा नयाँ उत्साह र प्रेरणा थपेको अस्पताल प्रशासनले जनाएको छ।

भविष्यमा अस्पतालले मुटु, मृगौला, मधुमेह, हर्मोन र क्यान्सर उपचारजस्ता विशेषज्ञ सेवा विस्तार गर्ने तयारी गरेको छ। हाल अस्पतालमा इमर्जेन्सी, बहिरंग, अन्तरंग, बर्थिङ, दन्त, आखाँ, सामान्य चिरफार, सुरक्षित गर्भपतन, क्षयरोग उपचार, एक्स–रे, ल्याब, फार्मेसी, एम्बुलेन्स र बीमा सेवा २४ घन्टा सञ्चालनमा छन्।

नगर अस्पतालले समुदायमुखी, आधुनिक र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै नगरवासीलाई अझ प्रभावकारी सेवा प्रदान गर्ने योजना अघि सारेको छ।