काठमाडौं, भदौ २९ – कागेश्वरी मनोहरा नगरपालिकाले भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा क्षति पुगेका भौतिक पूर्वाधारहरूको मूल्यांकन गर्न समिति गठन गर्ने निर्णय गरेको छ।
नगरप्रमुख उपेन्द्र कार्कीको अध्यक्षतामा बसेको चालु आर्थिक वर्ष २०८२र८३ को दोस्रो कार्यपालिका बैठकले पूर्वाधार शाखाका प्रमुखको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको हो। समितिमा सम्बन्धित शाखाका प्रमुखहरू सदस्य रहनेछन्। नगर प्रवक्ता हरिभक्त पुडासैनीका अनुसार समितिले तीन दिनभित्र क्षतिको विवरणसहितको प्रतिवेदन पेश गर्नुपर्नेछ।
आन्दोलनका क्रममा वडा नं। ७ र ९ को कार्यालय पूर्णरूपमा क्षतिग्रस्त भएका छन् भने अन्य वडाका कार्यालयहरूमा आंशिक क्षति पुगेको नगरपालिकाले जनाएको छ। यस्तै, केही स्वास्थ्य संस्थाहरूमा समेत तोडफोड र क्षति पुगेको विवरण उल्लेख गरिएको छ।
नगरपालिकाले सार्वजनिक सम्पत्तिमा भएको क्षतिको पुनःस्थापनाका लागि नगरवासीहरूलाई सहयोग गर्न अपिलसमेत गरेको छ। बैठकमा आन्दोलनको क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
नगरप्रमुख कार्कीले सुशासन, पारदर्शिता र सुधारका लागि अघि सारिएका एजेन्डाहरू कार्यान्वयन भइरहेको जानकारी दिँदै भविष्यमा अझ प्रभावकारी रूपमा अघि बढाइने प्रतिबद्धता व्यक्त गरे।
साथै, आन्दोलनको नाममा गरिएको तोडफोड, आगजनी तथा अन्य अव्यवस्थित गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन आवश्यक पहल गरिने निर्णय पनि बैठकले गरेको छ





