बाल दिवसमा युरोकिड्स गोठाटारद्वारा ‘बर्थडे हेल्पिङ फण्ड’ घोषणा

काठमाडौं । युरोकिड्स गोठाटारले बाल दिवसको अवसरमा ‘बर्थडे हेल्पिङ फण्ड’ अभियानको घोषणा गरेको छ । बालबालिकामा समाजसेवाको भावना विकास गर्ने र विद्यालयमा जंक फुड निषेध गर्ने उद्देश्यसहित बर्थडे हेल्पिङ फण्ड’ घोषणा गरिएको विद्यालयले जनाएको छ ।

विद्यार्थीहरूले आफ्नो जन्मदिनको अवसरमा केक ल्याउने परम्परालाई परिवर्तन गर्दै सो खर्च फण्डमा योगदान गर्ने व्यवस्था गरिएको विद्यालयका प्रबन्ध निर्देशक हेमन्त गौतमले जानकारी दिनु भयो ।

संकलित रकम हात नभएका बालबालिकालाई चलाउन मिल्ने कृत्रिम हात निःशुल्क प्रदान गर्दै आएको संस्था ई–नेवल नेपाललाई हस्तान्तरण गरिनेछ ।

बालबालिकाले अध्ययनसँगै सामाजिक उत्तरदायित्व बोध गर्नुपर्नेमा विद्यालयका अध्यक्ष नवराज काफ्लेको जोड छ । सानै उमेरदेखि सकारात्मक सोच र सहानुभूतिको भावना विकास गर्न यस्ता अभियान प्रभावकारी हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
बर्थडे फण्डमार्फत संकलित रकम वास्तविक आवश्यकता भएका बालबालिकाको सहयोगमा प्रयोग गरिने छ । हात गुमाएका वा जन्मजात हात नभएका बालबालिकालाई दैनिक जीवन सहज बनाउन सहयोग पुग्ने उद्देश्यले यस्तो पहल गरिएको हो ।

विद्यालयमा जंक फुड निषेध अभियानलाई स्वास्थ्य सचेतनासँग जोड्दै विद्यार्थीहरूलाई स्वस्थ जीवनशैलीतर्फ प्रेरित गर्ने प्रयास भइरहेको विद्यालयकी प्रधानाध्यापक सम्झना गिरीले बताउनु भयो । बाल्यकालदेखि नै सन्तुलित आहार र स्वच्छ बानीको अभ्यास गरिनु आवश्यक रहेको उहाँको भनाई छ ।