प्रथम “नेक्सस कबड्डी कप २०८२” भव्य रूपमा सम्पन्न, प्रतियोगितालाई वार्षिक रूपमा निरन्तरता दिने

काठमाडौँ, पेप्सीकोला — पेप्सीकोला टाउनप्लानिङमा रहेको नेक्सस इन्टरनेशनल एकेडेमीको आयोजनामा भएको प्रथम “नेक्सस कबड्डी कप २०८२” भव्य रूपमा सम्पन्न भएको छ। विद्यालयस्तरीय यो कबड्डी प्रतियोगितामा छात्र तथा छात्रा दुबै समूहका विद्यालयहरूले उत्साहजनक सहभागिता जनाएका थिए।

छात्रतर्फ, उत्कृष्ट प्रदर्शनसहित भीमेश्वर एकेडेमीले उपाधि उचालेको छ। प्यारागन स्कूलले पहिलो उपविजेता स्थान हासिल गर्दा बालसुधार र गणेश हिमाल विद्यालयले संयुक्त रूपमा दोस्रो उपविजेताको स्थान ओगटेका थिए।

छात्रातर्फ, प्यारागन स्कूल च्याम्पियन बन्न सफल भयो भने आयोजक नेक्सस इन्टरनेशनल एकेडेमी पहिलो उपविजेता बन्यो। यस्तै, चामुण्डा र भीमेश्वर विद्यालयले संयुक्त रूपमा दोस्रो उपविजेता स्थान प्राप्त गरे।

प्रतियोगितामा सहभागी सबै विजेता तथा उपविजेता टोलीहरूलाई प्रमाणपत्र, ट्रफी र पदकद्वारा सम्मानित गरिएको थियो।

कार्यक्रममा विद्यालयका संस्थापक प्राचार्य आरबी कटुवालले प्रतियोगिताको उद्देश्य विद्यार्थीहरूको चौतर्फी विकासमा टेवा पुर्‍याउने रहेको उल्लेख गर्नुभयो। उहाँका अनुसार नेक्ससले अध्यापनसँगै खेलकुदलाई पनि प्राथमिकतामा राख्दै आएको छ र यो कबड्डी प्रतियोगिता त्यही प्रतिबद्धताको निरन्तरता हो।

त्यस्तै, नेक्सस इन्टरनेशनल एकेडेमीका एचओडी कमल कटवालले प्रतियोगितालाई वार्षिक रूपमा निरन्तरता दिइने प्रतिबद्धता जनाउनुका साथै उपत्यकाका अझ बढी विद्यालयहरूको सक्रिय सहभागिता सुनिश्चित गरिने जानकारी दिनुभयो।

यस सफल आयोजनाले विद्यालयस्तरीय खेलकुद गतिविधिहरूलाई थप ऊर्जा प्रदान गर्नुका साथै विद्यार्थीहरूमा खेलप्रतिको रुचि र प्रतिस्पर्धात्मक क्षमतालाई अझ सुदृढ बनाएको आयोजकको विश्वास छ।