काठमाण्डौं (कांडाघारी), भदौ १५ – कागेश्वरी मनोहरा नगरपालिका–९ कांडाघारीमा रहेको शिव सुन्दर टोल सुधार सेवा समाजको सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ। कार्यक्रमको कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख उपेन्द्र कार्कीले उद्घाट्न गर्नु भएको थियो ।

सो अवसरमा नगर प्रमुख कार्कीले समाजको सक्रियता र योगदान प्रति प्रशंसा गर्दै नगरपालिकालाई नमुना नगरका रूपमा विकास गर्ने आफ्नो दृष्टिकोण बारे स्पष्ट पार्नुभयो । उहाँले शिक्षा, स्वास्थ्य, खानेपानी, उद्यमशीलता र रोजगारीका क्षेत्रमा नगरपालिका अगाडि बढिरहेको जानकारी गराउनुभयो।

कागेश्वरी मनोहरामा दीर्घकालीन रूपमा रहेको खानेपानी समस्यालाई सम्बोधन गर्न संघीय तथा प्रदेश सरकारको सहकार्यमा चालु आर्थिक वर्षभित्र समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, गुणस्तरीय शिक्षाको प्रवाह तथा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य सेवा स्थानीय तहमै उपलब्ध गराउने गरी योजना कार्यान्वयनमा रहेको पनि जानकारी दिनुभयो।

सो अवसरमा नगर प्रमुख कार्कीले समाजले पाँच हजार रुपैयाँको एकमुष्ठ रकम तिरेर आजिवन सदस्यता लिने २७ जना सदस्यहरूलाई आजिवन सदस्यताको परिचयपत्र नगर प्रदान गरिएको थियो। समाजले उक्त सदस्यताबाट संकलन हुने रकमबाट अक्षयकोष खडा गरी त्यसको व्याजबाट साना पूर्वाधार तथा सामाजिक कार्य सञ्चालन गर्ने योजना अगाडि सारेको जनाएको छ ।

कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका प्रथम नगर प्रमुख कृष्णहरि थापाले समाजको प्रयत्न र योगदान प्रशंसनीय रहेको उल्लेख गर्दै खानेपानी समस्या समाधानका लागि तीनै तहका सरकारको सहकार्य अपरिहार्य रहेको धारणा राख्नुभयो। उहाँले समाजले टोलस्तरमै नियमित भेला आयोजना गरी सामाजिक एकता र साझा सोचका साथ अघि बढ्नुपर्ने सुझाव दिनुभयो।

समाजका अध्यक्ष रणबहादुर कार्कीले अघिल्लो आर्थिक वर्षमा सम्पन्न भएका कार्यक्रमहरूको विवरण प्रस्तुत गर्दै चालु वर्षको योजना सार्वजनिक गर्नुभयो। उहाँले नगरपालिकासँग समन्वय गरी योजनाहरूलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो।

सहसचिव विदुरचन्द्र लामिछानेले उपस्थित सबैलाई स्वागत गर्नुहुँदैसमाजले स्वच्छता, हरियाली, गुणस्तरयुक्त शिक्षा, सूचना प्रविधिको प्रयोग, पारदर्शिता र उत्तरदायित्वमा आधारित भएर कार्य गर्नुपर्ने विचार व्यक्त गर्नुभयो। कार्यक्रममा संघका कोषाध्यक्ष ज्योति दाहालले समाजको आयव्यव विवरण पेश गर्नु भएको थियो ।

त्यस्तै, वडा नंं ९ वडा सदस्य भगवती बस्नेत, एकीकृत कांडाघारी टोल सुधार समाजका अध्यक्ष डोलप्रसाद पोखरेल, कांडाघारी समाजका अध्यक्ष भागिरथी पन्त, हिमालय टोल सुधार समाजका सचिव लीलाधर दाहालले शुभकामना मन्तव्य दिनु भएको थियो भने शिव सुन्दर टोल सुधार सेवा समाजका सचिव पुरुषोत्तम घिमिरे, सदस्यहरु रुद्रप्रसाद सिवाकोटी, कल्याणी बोहोरा, कुन्तामाया अधिकारी, पूर्ण लिम्वुले पनि आ–आफ्ना सुझाव राख्नु भएको थियो ।

समाजको वार्षिक साधारणसभामा टोलवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।










