नेक्सस इन्टरनेशनलकी स्वोर्लिन श्रेष्ठको अन्तर्राष्ट्रिय सफलता : दुई रजत र दुई काँस्यसहित चार पदकको उपलब्धि

काठमाडौं । पेप्सीकोलास्थित नेक्सस इन्टरनेशनल एकेडेमीकी विद्यार्थी स्वोर्लिन श्रेष्ठले भुटानको थिम्पुमा सम्पन्न ब्याडमिन्टन एशिया (दक्षिण एशिया) क्षेत्रीय च्याम्पियनसिपमा चार पदक जितेकी छन्। उनले महिला डबल्स र टोलीगत प्रतिस्पर्धामा रजत पदक प्राप्त गर्दा महिला सिंगल्स र मिक्स डबल्समा काँस्य पदक जितेकी हुन् ।

नेक्सस इन्टरनेशनल एकेडेमीले शैक्षिकसंगै अतिरिक्त क्रियाकलापमा समेत विद्यार्थीहरुलाई उत्तिकै सहभागी गराईरहेको छ । सो कारण विद्यार्थीहरू अन्तर्राष्ट्रिय स्तरमा सफल हुँदै गएका छन्। स्वोर्लिनको उपलब्धि उनको निरन्तर परिश्रम, समर्पण, र विद्यालयको समर्थनको प्रतिफल रहेको विद्यालयले जनाएको छ ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा विद्यार्थीले हासिल गरेको सफलताले विद्यालय मात्र नभई सिंगो देशलाई गौरवान्वित बनाएको विद्यालयका प्रिन्सीपल आरबी कटवालले बताउनु भयो । विद्यार्थीको मिहिनेत र विद्यालयको सहायक वातावरणले यस्तो उपलब्धि सम्भव भएकोमा उहाँले खुसी व्यक्त गर्नु भयो ।

स्वोर्लिनको सफलतामा उनका अभिभावकहरू पनि हर्षित देखिएका छन्। उनीहरूले सामाजिक सञ्जाल फेसबुकमा विद्यालयप्रति आभार व्यक्त गर्दै यस्तो अवसरका लागि धन्यवाद ज्ञापन गरेका छन् ।