गोठाटार, २३ मंसिर : कागेश्वरी मनोहरा नगरपालिका, काठमाडौंको स्वास्थ्य शाखाद्वारा उप– प्रमुख प्रजनन स्वास्थ्य कार्यक्रम अन्तर्गत संचालित “गर्भवती महिलादेखि नवजात शिशुसम्म” अभियानअन्तर्गत मंगलबार गोठाटार स्वास्थ्य चौकीमा विशेष स्वास्थ्य सेवा कार्यक्रम सम्पन्न गरिएको छ।

कार्यक्रम संयोजक लक्ष्मी कोइरालाका अनुसार समुदायका गर्भवती महिलाहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा पहुँचमा वृद्धि गर्न तथा सुरक्षित मातृत्व प्रवर्द्धन गर्ने उद्देश्यका साथ २० जना गर्भवती महिलालाई निःशुल्क अल्ट्रासाउन्ड सेवा प्रदान गरिएको छ ।
यस अभियानले गर्भवती महिलाहरूलाई प्रारम्भिक अवस्था देखि नै गर्भको स्वास्थ्य, बच्चाको विकास तथा सम्भावित जोखिमका बारेमा समयमै जानकारी प्राप्त गर्न सहयोग पुर्याएको छ। सुरक्षित मातृत्व तथा शिशु स्वास्थ्य प्रवर्द्धन नगरपालिकाको प्राथमिक सरोकार क्षेत्र भएकाले यस प्रकारका निःशुल्क स्वास्थ्य सेवाले समुदायमा सकारात्मक प्रभाव पारीरहेका छन्।

कार्यक्रम सफलतापूर्वक संचालन गर्न प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सम्पूर्ण स्वास्थ्यकर्मी, स्थानीय प्रतिनिधि, स्वयंसेवक तथा सरोकारवालाप्रति स्वास्थ्य शाखाले हार्दिक धन्यवाद व्यक्त गरेको छ।





