दक्षिण–पूर्वी एशियाली १२ मुलुकका प्रतिनिधिद्वारा कागेश्वरी मनोहरा नगर अस्पतालको अवलोकन


काठमाडौँ — दक्षिण–पूर्वी एशियाली PHC Oriented स्वास्थ्य प्रणाली चौथो वार्षिक क्षेत्रीय बैठकका अवसरमा भारत, थाइल्यान्ड, श्रीलङ्का लगायत १२ देशका उच्चस्तरीय प्रतिनिधिहरूले आज कागेश्वरी मनोहरा नगर अस्पतालको समग्र सेवा प्रवाहको अवलोकन भ्रमण गरेका छन्।

साे अवसरमा अस्पतालका कार्यकारी निर्देशक रामप्रसाद पौडेलले खादा अर्पण गरेर प्रतिनिधिहरूलाई स्वागत गर्दै अस्पतालमा अपनाइएका असल अभ्यास, गुणस्तरीय सेवा र पहुँचयोग्य स्वास्थ्य प्रणालीबारे विस्तृत जानकारी दिनुभयो। उहाँले यस्ता अंतर्राष्ट्रिय अवलोकनले अस्पतालका कमी–कमजोरी पहिचान गर्न र निरन्तर सुधारतर्फ अघि बढ्न ठूलो प्रेरणा मिल्ने बताउनुभयो।

प्रतिनिधिहरूले अस्पतालमा रहेको व्यवस्थापन प्रणाली, उच्चस्तरीय सरसफाइ, सेवाग्राहीमैत्री वातावरण, छिटो–छरितो सेवा, प्रयोगशाला सुविधाको PPT मोडल, preventive–curative सेवाको एकीकृत ढाँचा, तथा स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयनलाई विशेष प्रशंसा गरेका छन्।

त्यस्तै, FCHV हरूको समुदाय–केन्द्रित सक्रिय भूमिका र स्थानीय स्वास्थ्य प्रवर्धनमा पुर्‍याएको महत्वपूर्ण योगदानलाई समेत प्रतिनिधिहरूले उच्च मूल्याङ्कन गरे।

कार्यक्रममा मेडिकल सुपरिन्टेन्डेन्ट डा. अनामिका सिंहले अस्पतालको समग्र प्रणाली, integrated comprehensive health delivery model तथा आधुनिक प्रयोगशाला सेवाबारे विस्तृत प्राविधिक प्रस्तुति दिनुभयो।

अन्त्यमा, नगर अस्पतालले प्रतिनिधिमण्डलको अवलोकन भ्रमणप्रति हार्दिक आभार तथा कृतज्ञता प्रकट गरेको छ।