कागेश्वरी–५ तथा आसपासमा दिनदहाडै चोरी बढ्दै, अपरिचित व्यक्तिलाई देखे तुरुन्तै प्रहरीलाई खबर गर्न वडाध्यक्ष पाण्डेको आग्रह

थली: कागेश्वरी मनोहरा नगरपालिका–५ सहित आसपासका वडाहरूमा हाल दिउँसोको समयमा पनि चोरीका घटना बढ्दै गएपछि जनप्रतिनिधिहरुले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन अपिल गरेको छ।

विशेषगरी ब्लक जस्ता प्रयोग गरी बनाइएका अस्थायी घर तथा टहराहरू लक्षित गरी दिनदहाडै भइरहेका चोरीका घटनाप्रति चिन्ता व्यक्त गर्दै वडा नम्बर ५ का वडा अध्यक्ष शंकर पाण्डेले अपरिचित व्यक्ति देखिएमा तुरुन्तै प्रहरीलाई खबर गर्न आग्रह गर्नु भएको छ ।

“दिउँसै अस्थायी बासस्थान तथा टहरामा चोरीका घटना निकै बढेका छन्। कुनै नयाँ वा अपरिचित व्यक्ति आवतजावत गरेको देखिएमा नजिकैको प्रहरी कार्यालयमा जानकारी गरिदिनुहुन अनुरोध गर्दछु,” वडाध्यक्ष पाण्डेले आग्रह गर्दै भन्नु भएको छ ।

हालका घटनाले स्थानीयवासी बीच त्रास फैलिएको र सुरक्षामा चुनौती बढेको जनाउँदै पाण्डेले सामुदायिक सतर्कतामार्फत अपराध नियन्त्रणमा सहयोग पुर्‍याउन सबैलाई आग्रह गर्नु भएको छ ।

प्रहरीले पनि नियमित गस्ती बढाउने र स्थानीयसँग समन्वय गर्दै सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ।