कागेश्वरी मनोहरा : कागेश्वरी मनोहरा नगरपालिकामा स्वास्थ्य बीमा कार्यक्रम २०८१/०८२ सम्बन्धी वार्षिक समीक्षा तथा योजना बैठक नगरप्रमुख तथा बीमा संयोजन समिति अध्यक्ष उपेन्द्र कार्कीको प्रमुख आतिथ्यतामा सफलतापूर्वक सम्पन्न भएको छ।
बैठकमा प्रस्तुत प्रतिवेदनअनुसार चालु आर्थिक वर्षमा स्वास्थ्य बीमा कार्यक्रमले उल्लेखनीय उपलब्धि हासिल गरेको छ। स्वास्थ्य सेवाको पहुँच विस्तार, गुणस्तरमा सुधार तथा सेवा प्रवाहमा देखिएको सकारात्मक परिवर्तनले नगरपालिकाको ‘सबैका लागि स्वास्थ्य सेवा’ भन्ने लक्ष्यलाई थप बलियो बनाएको छ।
५७ प्रतिशत बीमित सेवाग्राहीलाई सेवा
कागेश्वरी मनोहरा नगर अस्पतालले हालसम्म करिब ५७ प्रतिशत बीमित नागरिकलाई सेवा प्रदान गरिरहेको तथ्याङ्कले स्वास्थ्य बीमाप्रति समुदायको भरोसा र पहुँच दुवै बढ्दो क्रममै रहेको पुष्टि गर्दछ। यो उपलब्धी नगरपालिकाको दीर्घकालीन भिजन— ‘स्वास्थ्य सेवाको पहुँच र सुनिश्चितता’—लाई व्यवहारिकरूपमा अघि बढाउने महत्वपूर्ण कदमसमेत बनेको छ।
वडास्तरीय दर्ता सहयोगीको भूमिका प्रशंसनीय
स्वास्थ्य बीमा विस्तार तथा दर्ता/नवीकरणमा हरेक वडाका दर्ता सहयोगीहरूको निष्ठापूर्ण प्रतिबद्धता र निरन्तर परिश्रमलाई बैठकले उच्च प्रशंसा गरेको छ।
कार्यक्रम सफलताको मूल आधार वडास्तरमै भएको सक्रियताले पुनः पुष्टि गरेको छ।
समुदायमा अझै बलियो सहभागिता आवश्यक
बैठकले स्वास्थ्य बीमा नागरिकका लागि आकस्मिक स्वास्थ्य जोखिम न्यूनिकरण, आर्थिक सुरक्षाको प्रत्याभूति तथा गुणस्तरीय उपचार पहुँचको महत्त्वलाई उल्लेख गर्दै “हातमा हात, साथमा साथ” लिएर समुदायमा अझ व्यापक जागरण फैलाउन जोड दिएको छ।
स्वास्थ्य बीमा कठिन परिस्थितिमा सबै परिवारका लागि महत्वपूर्ण सुरक्षा कवच हुने भन्दै समयमै नवीकरण वा दर्ता गर्न नगरवासीलाई आह्वान गरिएको छ।
‘छुटेको छ भने नवीकरण गरौँ, नभए बीमा गरौँ’
स्वास्थ्य बीमा कार्यक्रम प्रारम्भ भएको २०८१/०८२ यता निरन्तर जारी यो अभियानलाई अझ प्रभावकारी बनाउन प्रत्येक नागरिक, समुदाय र संस्थाको सहकार्य आवश्यक रहेकाे निष्कर्ष बैठकले निकालेको छ।
कागेश्वरी मनोहरा नगर अस्पतालले नगरवासीलाई गुणस्तरीय, सहज र दिगो स्वास्थ्य सेवा प्रदान गर्न सदैव प्रतिबद्ध रहेको बताउँदै बैठक सफलतापूर्वक सम्पन्न गरिएको अस्पतालका कार्यकारी निर्देशक राम प्रसाद पौडेलले जानकारी गराउनु भयो ।





